स्याङ्जाको गडहरे गुफाको ‘भूभौतिकी सर्भे’

२०७९ असार ७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा , ७ असार । स्याङ्जाको भिरकोट नगरपालिका–८ र ९ को सीमामा अवस्थित गडहरे गुफाको दोस्रो चरणको ‘भूभौतिकी सर्भे’ गरी प्रतिवेदन सार्वजनिक गरिएको छ ।

पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा रहेको गडहरे गुफाको विकासका लागि दोस्रो चरणको ‘भूभौतिकी सर्भे’ गरी प्रतिवेदन सार्वजनिक गरिएको हो ।

भिरकोट नगरपालिकाको पहल र त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा कविराज पौडेल नेतृत्वको भूगर्भविद् तथा सहायक भूगर्भविदहरुको एघार जनाको समूहले सर्भे गरी प्रतिवेदन नगरपालिकालाई बुझाएको हो ।

पहिलो चरणमा गुफाको ‘भौगर्भिक सर्भे’ गरेपश्चात् गुफाभित्र ६७८ मिटरभन्दा भित्र छिर्न नसिएकाले त्यहाँभन्दा अझै भित्रको अवस्थाबारे अध्ययन गर्नका लागि छुट्टै विधि ‘भूभौतिकी सर्भे’ गरिएको डा कविराज पौडेलले बताउनुभयो ।

“जमिनबाट करेन्ट पठाएर गरिने सर्भे ‘भूभौतिकी सर्भे’ बाट गुफाभित्रको तीनवटा विषयको अध्ययन गरेका छौँ,” उहाँले भन्नुभयो, “यो सर्भेले ६७८ मिटरभन्दा भित्र गुफा भएको, गुफा र जमिनको बीचमा अर्को ठूला वा सहायक गुफा नभएको र भुइँभन्दा तल अर्को सहायक गुफा नभएको पत्ता लागेको छ ।”

गत भदौमा पहिलो चरणको ‘भौगर्भिक सर्भे’ पश्चात् गुफाको बाहिरी तथा भित्री भूबनोट, गुफाभित्रका विभिन्न आकृति, ढुङ्गा खस्न सक्ने जोखिम भए ,नभएको, गुफाको बाहिरी भित्री संरचनाका बारेमा प्रतिवेदन तयार पारेर सार्वजनिक गरिएको थियो ।

दुवै चरणको अध्ययनपश्चात् गुफाभित्रको प्रत्येक १०÷१० मिटरको दूरीमा रहेका संरचनाहरु, चट्टानको प्रकारहरु, चट्टान खस्ने, जमिन भासिने जोखिम भए÷नभएको सम्पूर्ण अवस्थाबारे प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ । गुफाभित्र जमिन भासिने, चट्टान खस्नेजस्ता समस्याहरु नरहेको जनाइएको छ । गुफाभित्र विभिन्न किसिमका आकृति मनमोहक र कलात्मक देखिएको अध्ययन टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा गुफा ओझेलमा परेको भिरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । गुफाको प्रचारप्रसारसँगसँगै पूर्वाधारको विकास गरेर यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा पहिचान दिने गरी योजनाहरु अगाडि बढाउने प्रमुख कर्माचार्यले जानकारी दिनुभयो ।

“भिरकोट नगरपालिकाको पहिचानका रुपमा रहेको गडहरे गुफाको विकास र प्रचारप्रसारमा ध्यान दिन्छौँ,” प्रमुख कर्माचार्यले भन्नुभयो, “यसका लागि नगरपालिका र यसका क्षेत्रमा काम गर्ने सम्बन्धित निकायहरुसँगको पहलमा बाँकी रहेका कार्यहरुलाई पूर्णता दिँदै जानेछौँ ।” गुफाभित्र र बाहिरको दुवै चरणको अध्ययनको प्रतिवेदनबाट प्राप्त सुझावलाई नगरपालिकाका तर्फबाट कार्यान्वयनमा लगिने प्रमुख कर्माचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय