स्याङ्जा, १४ कात्तिक । स्याङ्जामा अफ्रिकन ‘स्वाईन फिभर’ देखिएको छ । पुतलीबजार नगरपालिकामा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको हो । यो रोग स्याङ्जामा पहिलो पटक देखिएको हो।
फिभरका कारण पुतलीबजारका झण्डैं ३ सय वटा बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्याङ्जाले जनाएको छ।


कार्यालयमा ३ सय वटा बंगुर मरेको भन्दै रिपोर्ट आएको कार्यालय प्रमुख डा. इन्द्रप्रसाद भट्टले बताउनुभयो । ‘ल्याब परीक्षण गर्दा अफ्रिकन स्वाईन फिभर पुष्टि भएको छ,’ उहाँले भन्नुभयो ।
एक महिनादेखि यो रोगको संक्रमण देखिन थालेको प्राबिधिक प्रमुख गोपाल गिरीले बताउनुभयो । बंगुर झोक्राउने, खान खान रुची नदेखाउने, ज्वरो आउने, शरीरमा ढब्बा तथा निलो दागहरु देखिने, नाक र मुखबाट रगतरपानीरर्याल बग्ने लक्षण संक्रमित बंगुरमा देखिएको उहाँले बताउनुभयो ।
सरुवा रोग भएकाले संक्रमित बंगुरलाई छुट्टै राख्ने, होटल तथा बाहिरबाट ल्याएका खानेकुरा राम्ररी पकाएर खान दिने र बंगुरको स्याहारसुसार गर्ने, दानापानी दिने व्यक्ति पनि सुरक्षित हुनुपर्ने उहाँले बताउनुभयो । यो संक्रमणबाट मरेको बंगुरलाई राम्ररी गाड्नु पर्ने उहाँले बताउनुभयो ।
भाडामा जग्गा लिएर बंगुर पाल्दै आएका पदम गन्धर्वले आफुले पालेका ४९ वटा बंगुर मरेको बताउनुभयो। माउ र पाठापाठीसहित धमाधम बंगुर मर्न थालेपछि उहाँलाई हजारौं रुपैंया बराबरको क्षति भएको छ ।