सांसद भण्डारीको अवस्था जटिल, उपचारका लागि देश बाहिर लैजान सिफारिस

२०७९ फाल्गुन ४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,४ फागुन । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।

गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते हुनुभएको थियो । उहाँहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उहाँहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । अस्पतालका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ । आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उहाँको अवस्था पनि गम्भीर रहेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर निजिना ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै हालको स्रोत साधनले नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय