हदम्याद नाघेको उजुरीमा बिन्धबासिनीका सञ्चालक रेग्मी पक्राउ परेको खुलासा, उजुरीकर्ताका साक्षीहरु नै गायव

२०७९ फाल्गुन १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं ,१६ फागुन। सामाजिक सञ्जालमा छाइरहने बिन्ध्यावासिनी म्युजिक कम्पनीका सञ्चालक एवं समाजसेवी सुवास रेग्मी बिगत एक सातादेखि प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई साइबर क्राइमको अभियोगमा पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीमाथि ४ जना कलाकारले म्याद गुजारेर ६ महिना पछि उजुरी दिएका हुन् ।

सुवास पक्राउ पर्नुको कारणहरू

सामाजिक सञ्जालमा निकै सटिक टिप्पणी गर्न माहिर सुवासले करिब ६ महिना अगाडि फेसबुकमा लेखेको एउटा स्टाटसलाई आधार मानेर परेको उजुरीका कारण सुवास पक्राउ परेको खुलेको छ ।

गीतकार संघका तत्कालीन सचिव महेश आचार्यले एउटा अनलाइन समाचारमा गत असार महिनामा एउटा अन्तर्वार्ता दिएका थिए । सो अन्तर्वार्तामा उनले संगीत रोयल्टी संकलन समाजको कार्यसमितिलाई भ्रष्टाचारी, अवैधानिक एवं नैतिकहिन भएको कुरा उल्लेख गरेका थिए । यसको प्रतिउत्तरमा समाचारको लिंक समेत आफ्नो फेसबुक वालमा शेयर गर्दै संगीत रोयल्टी संकलन समाजका पुर्व उपाध्यक्ष एवं कार्यसमिति सदस्य सुवास रेग्मीले केही टिप्पणी पोष्ट गरेका थिए ।

सुवास रेग्मीको सो टिप्पणीको सार्वजनिक आलोचना भएसँगै केही समयपछि सुवासले उक्त पोष्ट हटाएका पनि थिए । सुवास र महेशबीचको बहस एउटा अन्तर्वार्ताको विषयमाथि भएको थियो, जसमाथि आपत्तिजनक शब्द प्रयोग भएको कमेन्ट भएपछि सुवासले सो स्टाटस हटाएका पनि थिए ।

तर, त्यही विषयलाई लिएर अहिले प्रहरीले उनलाई पक्राउ गरेको छ । अधिवक्ता गणेश कुमार शर्माका अनुसार विद्युतीय कारोबार ऐनअनुसार कसैले विद्युतीय माध्यम प्रयोग गरेर चरित्रहत्या गरेको पाइएमा ९० दिनभित्र उजुरी दिइसक्नुपर्ने हुन्छ।

तर, सुवास भने त्यो स्टाटस लेखेको १ सय २० दिनभन्दा बढी समयपछि पक्राउ परेका छन् । तर कसैको दवाव वा प्रभावमा परेर प्रहरीले म्याद गुज्रिसकेको अभियोगमा जबरजस्ती गरेको गीत संगीत क्षेत्रका अभियन्ताहरु बताउँछन् । अधिवक्ता शर्मा भन्छन्, ‘कानुनतः विद्युतीय अपराधमा ९० दिनभित्र उजुरी गर्नुपर्छ, त्योभन्दा बढी समय भएपछि उजुरी गर्न मिल्दैन वा प्रहरीमा दर्ता पनि हुँदैन ।’

नेपाली संगीत क्षेत्रमा विगत २० बर्षदेखि अनवरत रुपमा संगीत व्यवसायी, गीतकार, संगीतकार, गायक, कलाकार र निर्देशकको भुमिकामा क्रियाशिल रहेका रेग्मीले विभिन्न अवार्ड, सम्मान, एकल साँझ लगायतको सामाजिक कामहरु पनि गर्दै आइरहेका छन् ।

यही सिलसिलामा थाइल्यान्ड भ्रमणमा रहेका बेला रेग्मीविरुद्ध साइबर क्राइममा जाहेरी दर्ता भएको थियो । अनुसन्धानको क्रममा २ पटक म्याद थप भएर अहिले उनी प्रहरी हिरासतमा छन् ।

संस्थागत गालीगलौज, भनाभन र समाचारका बिषयमा दुई संस्थाका पदाधिकारी बीच भएको जुहारीलाई साइबर क्राइममा जाहेरी दर्ता गरेर पक्राउ गरेको भन्दै रेग्मीका शुभचिन्तकले सामाजिक सञ्जालमा व्यापक आक्रोश पनि पोखिरहेका छन् ।

रेग्मी निकटका हुसेनजी भन्छन्, ‘त्यो बिषय व्यक्तिगत गाली बेइज्जतीको विषय हो । सोही गाली बेइज्जती कसुरमा अदालतमा फिरादपत्रबाट व्यक्तिवादी मुद्धा दायर हुनु पर्ने विषयलाई साइबर क्राइममा मुद्दा दर्ता हुनु आफैमा अनुचित देखिन्छ । त्यसमा थप हदम्याद नाघी परेको निवेदन दर्ता गरी प्रहरीले अनुसन्धानका नाममा कुनै व्यक्तिलाई दुःख दिनु उचित होइन ।’

सुवास पक्राउपछि गायक तथा संगीतकारद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको पनि खोजी भएको छ । भजन शिरोमणी भक्तराज आचार्यको नाम, मर्यादा, गरिमा र सामाजिक इज्जतको दुरुपयोग गरेर सत्य र स्वरुपले सुवासलाई लामो समय हिरासतमा राख्न खोजेको भन्दै उनीहरुको खोजी भएको हो ।

खुल्न आए अनुसार जाहेरी दरखास्तमा घट्ना सम्बन्धि जान्नेसुन्नेमा सत्य र स्वरुपको नाम उल्लेख छ । त्यसैको आधारमा प्रहरीले साक्षी बकपत्रका लागि पटक पटक बोलाउँदा पनि बकपत्रका लागि आउन उनीहरुआलटाल गरिरहेको बुझिएको छ ।

सत्य र स्वरुपले अस्वभाविक आलटाल गरेसँगै उनीहरुलाई सुवासका आफन्तले पनि खोजी गरिरहेका छन् । प्रहरीले पनि उनीहरुलाई तारन्तार बोलाइरहेको छ। सुवासका आफन्तले भने सुवासको हिरासत अवधि बढाउनका लागि सत्य र स्वरुपले बयान दिन आलटाल गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय