जरिवाना बैंकिङ् प्रणालीबाट सुरु गर्दै स्याङ्जा ट्राफिक

२०८० भाद्र १, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा , १ भदौ । तपाईले अव सवारी नियम उल्लघंन गर्नुभयो भने जरिवाना बैंकमा गएर भुक्तानी गर्नुपर्छ । तपाईले सवारी नियम उल्लघंन गर्नुभयो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जरिवाना भुक्तानी गर्न सिधै बैंकमा पठाउने छ । सवारी नियम उल्लंघनका कसुरहरुको जरिवानावापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्था ट्राफिक प्रहरीले लागु गरेको छ ।

भदौ १ गतेदेखि जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवानावापतको राजस्वलाई बैंकिङ प्रणालीमा जोडेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रविण आचार्यका अनुसार यदि कुनै सवारी कारवाहीमा परे उसले बैंकिङ प्रणालीबाट राजस्व जम्मा गरेपछि मात्रै कागजात र सवारी छुट्नेछ । यो प्रक्रिया पूरा गर्न कम्तिमा २४ घण्टा लाग्नेछ ।

प्रहरी प्रधान कार्यालयले ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम (टिभीआरएस) सफ्टवेयर प्रणालीको विकास गरेर देशभर एकीकृत रुपमा कार्यान्वयनमा ल्याउन लागेकाले स्याङ्जा पनि तयारी अवस्थामा पुगेको आचार्यले बताए । यो सिस्टमका आधारमा कारवाही सुरु हुन्छ, त्यसपछि सवारी नियम उल्लंघनको विवरण, सवारी चालक अनुमतिपत्र नवीकरणको विवरण, कारवाहीमा परेको विवरण देशभरमा हेर्न सकिनेछ । स्याङ्जामा सवारी नियम उल्लंघन कसुर गरेको सवारीले जरिवाना नभराई पोखरा पुगेर त्यहाँ पनि कारवाहीमा परे टिभिआरएस प्रणालीमा त्यो रेकर्ड हेर्न सकिनेछ । त्यसपछि पहिले स्याङ्जा कार्यालयको राजस्व दाखिला गरेर कागजात झिकेपछि मात्रै पोखरामा परेको कारवाहीको राजस्व दाखिला गरेर सवारीसाधन वा कागजात पाइनेछ । सवारी नियम उल्लंघनमा पहिलो पटक भएको भए ५ सय, दोस्रो पटक भए १ हजार र तेस्रो पटक भए १ हजार ५ सय जरिवाना लाग्ने आचार्यले बताए । यस्तो जरिवाना भराउन अहिले ढड्डा पल्टाउनुपर्ने बाध्यता ट्राफिक प्रहरीलाई थियो अब त्यसको अन्त्य भएको छ ।

यो टिभिआरएस प्रणाली कार्यान्वयनमा आएपछि कुन सवारी साधन कतिपटक कारवाहिमा प¥यो भन्ने बिषय जहाँबाट पनि हेर्न सकिने छ । सवारी नियम उल्लंघनको कसुर लागेर पटके परेका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन सहज हुने बताइएको छ ।

ट्राफिक प्रहरीले जरिवाना भुक्तानी गर्न अर्को अनलाइन बंैकिङ प्रणालीको सुविधा लिन सकिने व्यवस्था मिलाएको वालिङ ट्राफिक प्रमुख रेशम बहादुर थापाले बताए । विभिन्न अनलाइन पेमेन्ट मार्फत भुक्तानी जस्तै फोन–पे, खल्ती, ई–सेवा, कनेक्ट आइपिएस जस्ता माध्यमबाट समेत भुक्तानी गर्न सकिन उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले अहिले राष्ट्रिय वाणिज्य बैंकसंग क्यूआर कोड प्राप्त गर्ने प्रक्रिया अगाडी बढाएको छ । प्रहरी प्रधान कार्यालयले अनलाइन भुक्तानीका लागि राष्ट्रिय वाणिज्य बैंक सगँ सम्झौता गरेको छ । ट्राफिक प्रहरीले कारवाहिको प्रथामिकताका आधारमा बैंकबाट जरिवाना तिरेको भौचर ल्याउनु पर्ने वा अनलाइन पेमेन्ट गर्ने भन्ने बिषय भने कसुर हेरेर हुने बताइएको छ । अव सिधै बैंकमा पुगेर जरिवाना तिनुपर्ने झन्झटले दुर्घट्ना न्युनिकरण र सवारी नियम उल्लघंन गर्नेको संख्यामा कमी आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय