तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित हुने

२०८० भाद्र १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा, १० भदौ । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन् ।

मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँले ती आयोजनाको निर्माण ८५ प्रतिशत सकिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल सरकार खानेपानी मन्त्रालयको आर्थिक सहयोगमा निर्माणधीन आयोजनाको कुल लागत रु १६ करोड ६६ लाख ७३ हजार आठ सय १४ छ । निर्माणको जिम्मा सिएवी, जिआरडी जेभी काठमाडौँले पाएको छ । स्थानीय उपभोक्ताले जनश्रमदानबापतको रकम रु दुई करोड आठ लाख ३४ हजार दुई सय २६ बेहोर्ने सर्तमा विसंं २०७८ असार २९ गते सम्झौता भएको थियो । आयोजनाको विसं २०८० पुस २९ सम्म निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।

अध्यक्ष पोखरेलले धुलाबारीमा दुई, भृकुटीमा दुई र चारआलीमा एउटा डिप बोरिङमार्फत पानी निकालेर दुई वटा फिल्टर प्लान्ट हुँदै चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीमा जम्मा गरी सप्लाई गरिने बताउनुभयो ।

उहाँका अनुसार चारआलीमा भने दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्याङ्की छ । जसबाट एक हजार बढी घर परिवार लाभाविन्त हुनेछन् । मेचीनगर(२ का बासिन्दा वर्षांैदेखि इनार, कलको पानी उपभोग गर्दै आएका थिए ।

वर्षौंदेखिको खानेपानीको समस्याबाट वडा नं २ को तल्लो क्षेत्र लाभान्वित बन्न लागेको वडाध्यक्ष दीपक बरालले बताउनुभयो । “शुद्ध, सफा खानेपानीको पहुँचमा बल्ल पुगियो”, उहाँले भन्नुभयो, “माथिल्लो बेल्ट अझै काकाकुल अवस्थामै छ । यसले थोरै भए पनि राहत पुग्यो ।”

निर्माण व्यवसायी देवेन्द्रप्रसाद चौगालाईंले करिब ९५ प्रतिशत निर्माण पूरा गरेको दाबी गर्नुभयो । उहाँका अनुसार एक सय ५० मिटर गहिराइबाट पानी निकालिएको छ । उहाँले तोकिएकै समय अगाडि नै आयोजना सम्पन्न गरी हस्तान्तरण गरिने बताउनुभयो । उहाँले हाल ओभरहेड ट्याङ्की, डीप बोरिङलगायतका सबै निर्माण सकिएको र केही स्थानमा पाइपलाइन विस्तार मात्रैबाँकी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय