“कठै चापाकोट ! तिम्रो मुहार कहिले फेरिन्छ ?”

२०८० भाद्र १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

साझको ८ बज्दै थियो,भान्सामा भात पस्किदै आमाले भन्नू भयो,भाकल राखेको छु,कालो बोको लिएर भोलि बिहानै गर्हौसुर जाने हो बिहान सबेरै उठ्नु । मैले आमाको कुरो बिचमा काट्दै मैले भने के को भाकल हो यस्तो अन्धाबिश्वास गर्नु हुदैन।

मेरि आमा धार्मिक आस्थामा असाध्यै बिश्वास गर्नु हुन्छ । मेरि आमा मात्रै होइन सायद सबैको आमाले गर्नुहुन्छ । मैले हुन्छ भन्दै भान्साबाट हात चुट्न बाहिर जाँदै भने “केवलकारबाट जाने कि वालिङ्ग हुँदै सुरुङ्ग मार्गबाट जाने आमा” आमाले जादा केवलकार र फर्किदा सुरुङ्गमार्ग हुँदै फर्किने भन्नू भयो,मैले हुन्छ भन्दै हात चुट्न बाहिर निस्के। बिहान सबेरै उठेर म आफ्नो नृत्यकर्म सकेर चिया पिउन थाले आमा पुजाको समान तयार गर्दै हुनुहुन्थ्यो । बिहान सबेरै वल्लोपल्लो घरमा कोहि उठेका थिएनन । भाले बास्दै थियो । गाडिको टाइटुइ आवाजले मान्छेहरु आफ्नो गन्तव्यमा पुग्न हतारिएको सकेत गरि रहेको थियो । चापाकोटमा यत्रो केवलकार देखि सुरुङ्गमार्ग बनी सक्यो बिकासले कोल्टे फेरि सक्यो तर हाम्री आमालाई भने दुहुनो भैंसी र २/४ वटा बाख्रा नभैइ सिबियालोनै हुदैन रे, दिन कसरी कटाउने भन्नू हुन्छ।

आमाले भित्र खोरबाट बोको निकाल भन्नू भयो म बाख्राको खोरतिर गए,बिहानको मौसम हल्का चिसो चिसो थियो,मैले बोकोलाइ तान्दै भाग्यमानी रैछस भगवानको घरमा जाने भईस भन्दै ताने,बाकी बाख्राहरु कराउन थाले बोको पनि करायो,परिवारबाट छुट्टिदा सबै कराउछन रुन्छन,यिनिहरुको पनि त आत्मा छ मैले मनमनै भने खै के हो बलि दिएर भगवान खुसी हुने खै कस्तो धर्म ।

श्रीमतीलाई घर हेर्नू हामी पुजा गरेर आउछौ भनेर म बोको डोर्‍याउदै अघि लागे आमा पछि पछि पुजाको समाग्री लिएर आउनु भयो । तल चोकसम्म आइपुग्दा पनि बाख्राहरु कराइ रहेका थिए बोको घरतिरै जान खोज्दै थियो मैले तान्दै चोक सम्म ल्याए ।

केवलाकर स्टेसन त्यही बेलचौर हो, घर देखि जम्मा २/३ किलो मिटर उता । बस पनि आइहाल्यो नगरबस रैछ २०/२० मिनेटको अन्तरालामा आउँछ। हामी स्कुल पढ्दा खेतको आलि आलिबाट हिडिन्थ्यो अहिले त्यही खेतको आलिबाट रिङ्गरोड बनेको छ,यो रिङ्गरोड चापाकोटको फाटहरु सबै घुमेर फेरि यहि आउन २ घन्टा लाग्छ र पनि प्रत्येक बस स्टेसनबाट २०/२० मिनेटमा छुट्छ । बोको घरतिरै हेर्दै कराइ रहेको थियो म निर्दयी बनेर सुनिरहे मान्छेहरु बोकोलाइ छतमा राख्नु पर्थ्योनी भन्दै थिए मैले त्यही बेल्चौरसम्म हो भनेर थमथमाए ।

स्टेसन आइपुग्यो मान्छेहरुको हुल थियो तर पनि ब्यबस्थित तरिकाले लाइनमा पालो पर्खिदै थिए । महिला पुरुषको अलग अलग लाइन साथै बृद्द र गर्भवतीहरुको लागि अलग लाइनको ब्यबस्था गरिएको । यस्तै भिड हुन्छ भनेर मान्छेहरु अघिल्लाे दिननै आएर होटलमा बसेर बिहानै लाइनमा उभिदा रैछन आफू भने घर नजिकै छ आइहालिन्छनी भनेर आउदा यस्तो भिड अब कति बेर लाइनमा उभिनु पर्ने हो।

आमाले उदेक मान्दै भन्नुभयो यत्रो भिड रैछ अब कतिबेर पर्खिनु पर्ने हो । उबेला नेता भएर हिड्थिस त कोहि चिनेको होलास छिटो टिकट लिएर आइजो । ल बोको समाउनुस फेरि फुत्केर भाग्ला आमाको हातमा बोको बाधेको डोरो थम्याउदै म टिकट काउन्टरतिर लागे । पोहोर सालसम्म मात्रै यो केवलकार भन्नुभन्दा अगाडी यहाँ फाट्टफुट्ट घर मात्रै थिए अहिले यत्रो बजार बसिसक्यो । ठुलाठुला घर,घरै पिच्छे होटल चियापसल बिहान बिहानै मान्छेहरुको भिड । स्टेसनमा मान्छेहरुको भिड नियन्त्रण गर्न प्रहरी देखि नगर प्रहरीहरु तैनाथ थिए । केही मान्छे सडकका पेटिबाट कुकुर डोर्याउदै हिडेका थिए । मैले मनमनै सोचे चापाकोटमा मान्छेले गाइभैसी पाल्न छोडेर कुकुर पाल्न सुरु गरि सकेछन।

बाटो नाघेर टिकट काउन्टरमा लाइनमा उभिनु भन्दा अगाडि झलक्क साथिलाइ सम्झे,सगै पढेको साथी यहि स्टेशनको हाकिम छ उस्लाइ फोन गरेर टिकट मिलाउन भन्नू पर्यो । फोन झिके फेरि सोचे भैगो लाइनमानै उभिन्छु यसरी नियमको उल्लंघन गर्यो भने यसरी ब्यबस्थित तरिकाले गरिएको ब्यबास्थापन खराब हुन्छ,मेरो पालो अरुले अरुको पालो मैले मिच्दै जाने हो भने त नियम सुशासननै बेथिती हुन्छ तसर्थ बेथिति गर्नु हुदैन फेरि मोबाइल खल्तिमा राखे र लाइनमा उभिए । झन्डै एक घन्टाको पर्खाइ पछि दुइटा टिकट लिए,आमा फुस्रो अनुहार लिएर पर्खिरहनु भएको थियो बोको मलाइ देख्ने बित्तिकै करायो सायद भोकायो होला,दुइटा सेलरोटी किनेर दिए निकै रहर लाग्दो गरि खायो ।

केवलकारमा बोका राख्ने छुट्टै डिब्बा हुदोरैछ,चिन्न सजिलो होस भनेर बोकको घाटिमा मैले  रातो रिबन बाधी दिए र हामी अलग डिब्बामा चढयौ । केवलकार बिस्तारै चल्न थाल्यो र बिस्तारै बायातर्फ गगालाल उच्च मा बि,सुन्तलिटारको बजार देखिन थाल्यो, आहा कस्तो मनोरम देखिएको । चौडा छाती जस्तै फिजारिएको चापाकोटमा अग्ला अग्ला घर रोडको दायाँबायाँ हरियाली फुलहरु दायातर्फ किसान देखि उटक सेरा भुमरिघाटका धान फल्ने खेतहरुमा सबै प्लटिङ्ग गरेर छपक्कै घरै घर बनेको,अलि माथी चिर्के थुम्का पुगेपछी केवलाकार बाटै मजुवा मकुन्डे खोलामा तल बैडिबाट ड्याम बाधेर फेवाताल जस्तै मकुन्डे ताल बनाएको,मान्छेहरु बोटिङ्ग गरेको पनि माथी बाटै देखिदै थियाे । मैले आमालाइ हाम्रो घर देखाउन भने तर आमाले मकुन्डे खोलामा बनेको मुकुन्डे ताललाइ देखाउदै त्यहाबाट त्यता भनेर देखाउनु भयो तर घरनै देखाउन सक्नु भएन,सक्नु पनि कसरी धान फल्ने कृष्णपुर छिपछाप खेतहरुमा घरै घर सडकै सडक बनेका मैले पनि यसै ठम्याउन सकिन ।

केवलकारमा शिर शिर हावा चल्दै थियो अरु मान्छेहरु पनि उ त्यहा त्यस्तो उ त्यता त्यस्तो भन्दै नियाल्दै गैरहेका थिए,हामी आमा छोरा पनि चापाकोटको मनोरम दृश्यको अबलोकन गर्दै जाँदै थियौ यसो केवलकारैको तल हेरेको धुर्कोट आइ पुगिएछ।अलि परबाट हवाइजहाज सुस्त गतिमा हामी भन्दा माथी बाट आउदै थियो,एकैछिनमा हाम्रो टाउकै माथिबाटै गएर मेचे डाडा बिमानस्थलमा बस्न ३ फन्को लगाएर बस्यो। यो बिमानस्थल पनि बनेको धेरै भएको छैन,सरकारी बजेटमा एक रुपिया पनि अपचलन नभै मन्त्री र चापाकोटको मेयरको प्रत्यक्ष सहकार्यमा हालसलै नबनिर्मित बिमानस्थल हो। यो बिमानस्थल संचालनमा आए पछि यहीँबाट रत्नपुरमा रहेको कृषि क्याम्पसमा कृषि,किसानमा रहेको प्राबिधिक शिक्षालयमा प्राबिधिक शिक्षा र सुन्तलिटारमा रहेको गन्डकी मेडिकल कलेजमा स्टाप नर्स पढ्न देशको कुना कुनाबाट बिद्यार्थीहरु आउछन।

धुर्कोट माथिबाट शाखरको फाट,सेखाम,रामडाडाको मनोरम पर्यट्किय स्थल देखिदो रैछ। रामडाडामा रहेको मन्दिर सङ्गै अलि उता एसियाकै ठूलो भगवान रामको शालिक बनाइएको। नब निर्मित शालिकले चापाकोट्मा राम राज्यकै आभाष दिलाउदै थियो । यस्तै गरि खासा हिलामरङ्ग सिम हुदै दामाचौरको सडक मार्ग जोड्न ज्याग्दी खोलामा पक्की पुलहरु बनिसकेका र बन्दै गरेका स्पस्ट माथिबाट देखिदै थियो । चापाकोट रामपुर जोड्न कालिगन्डकिमा बनाइएका पुलहरुमा काली नदि जस्तै गाडिहरु सलल गुडिरहेको,दामाचौर मुनि माडी फाटहरु मडि जस्तै झलाझल बलेको,एकटक आँखा चारैतिर घुमाए धरहराबाट काठमाडौ नियाले जस्तो धुर्कोट्बाट चापाकोट नियाल्दा काठमाडौ जत्रै ठूलो उपत्यका ठूलो शहर देखिदो रैछ।

अहो,त्यति बेलाको घट्ना झलक्क याद आयो । हामी सानै केटाकेटी थियौ,एकचोटि बुवाले यहाँ बेचेर बुटवल बसाइ सर्ने कुरा गर्दा आमाले बेच्न नदिएको,हाम्रो पालोमा नभएपनी छोरा नातिको पालोमा चापाकोट बन्छ भन्दै बेच्न नदिए पछि बुवा मलिन हुनु भएको । साच्चै त्यति बेला आमाले भनेको छोरा नातिको पालोमा बन्छ भनेको चापाकोट आज बन्यो र जग्गाको भाउ काठमाडौ पोखराको भन्दा कम छैन, चापाकोट आखिर बनेरै छोड्यो । आज चापाकोट पोखरा बुटवल धरान जस्तै ठूलो शहर बनेको छ। बसाइ सरेर आउनेहरुले गर्दा जनघनत्व उच्च छ,नगरपालिका बाट उपमहानगर पालिका बनिसक्यो । त्यतिबेला आमाले पनि हुन्छ भनेर बसाइ सरेको भए आज पश्चाताप हुदोरैछ ।आमाको त्यति बेलाको निर्णय सम्झेर आमा तिर हेरेर म खिस्रीक्क हासे । किन हासिस आमाले सोध्नु भयो। मलाइ कबिता फुर्यो ।

चरी उड्यो भुरुरु
मन नै भयो हुरुरु
केवलकार चढेर
चापाकोट बजार हेरेर
उडु उडु जस्तो लाग्यो
बुडु बुडु जस्तो लाग्यो
मन नै भयो हरर
आहा, कति राम्रो
हाम्रो चापाकोट शहर।।

बाबू त कबिनै हुनुहुदो रहेछ नि,नजिकै बसेको मान्छेले भन्नुभयो । यस्ले अनेक जान्या छ आमा बिचमै बोल्नु भयो । अनि तपाइहरु कहाबट निरु मैले सोधे। ढेडगाउबाट टिकट पाइदैन भनेर हिजोनै आएर होटलमा बसेको । अर्को छेउमा बस्ने मान्छेले चापाकोट नियाल्दै भन्नू भयो हो साची चापाकोट चापाकोट्नै बन्यो । यस्तो बिकासप्रमी नेता मेयर भए ठाउँ बन्न धेरै समय नलाग्ने रैछ । यस्तै नेता देशको प्रधानमन्त्री भए अझै देशनै कस्तो हुन्थ्यो होला,चापाकोटेहरुले सच्चा देशका सपूत मेयर पाएका रैछन चापाकोटलाइ बनाइ छाडे । मैले वहाको कुरा काट्दै भने मान्छेहरु बालेन हर्क रबि दाइ रबि दाइ भन्छन,एउटा सिन्का भाचेको पनि फेसबुकमा राख्यो प्रचार गर्यो वाह वाही बटुल्छन । हाम्रो मेयरले खै एउटा प्रचारबाजी नगरी आफ्नो लक्ष्यमा दत्तचित्त भएर त्यस्तो चापाकोटलाइ यस्तो बनाए देख्नु भयोनी तरपनी वहामा कत्तिपनी अहमता छैन,निकै सरल मिजासिलो हुनुहुन्छू मैले भन्दै थिए सबैले हो मा हो थपे ।

केवलकार बेल्चौरबाट चढेको पनि १४/१५ मिनेट भैसकेछ अब ३/४ मिनेटमामा  रिठ्ठेठाटी हुँदै गर्हौसुर पुगिन्छ । लगभग २० मिनेटको यात्रा पछि गर्हौसुर पुगियो । त्यहा पुजा सकिए पछि आमाको चाहाना अनुरुपनै वालिङ्ग हुँदै सुरुङ्ग मार्गबाट फर्किनको लागि हामी वालिङ झरियो । हल्का खाजा नास्ता पछि हामी मिर्दी हुँदै बस चडियो । मिर्दिबाट अलि उता लागेपछी सुरुङ्ग मार्ग सुरु हुदो रैछ। हामी केटाकेटी हुदा चापाकोटको नहर बन्दै गर्दा छपनी लगाएको ठाउमा भित्र भित्रै अधेरोमाको अगाडी निस्कने भन्दै खालि खुट्टै दगुर्थ्यौ तर यो सुरुङ्गमार्ग त्यस्तोअन्धकार नहुदो रैछ। भित्ता भित्तामा बिजुली बत्ती जडान गरिएको उजेलो थियो। हामी मिर्दी हुँदै सुरुङ्ग मार्गबाट १० मिनेटमा बारिकुना आइपुगियो त्यहाबाट ५/७ मिनेटमा हामी घरनै आइपुगियो । सुरुङ्ग मार्गले गर्दा वालिङ्बाट चापाकोट २०/२५ मिनेटमानै आइपुगिदो रैछ।

घर आइपुग्ना साथ मैले झोला फ्यात्त भुइमा बिसाए। चाडैनै आइपुग्नु भयो त श्रीमतिले चिसो पानी आन्खोराबाट गिलासमा सार्दै आमालाइ र मलाइ दिदै भनिन । आमाले पानी पिउदै भन्नुभयो कस्तो जमाना आयो,हाम्रो पालोमा बिहानै हिडेर वालिङ् पुगेर सामान लिएर फर्किदा राती हुन्थ्यो अहिले हेर त सुबिधा । हुन पनि त्यो बेला नुन तेल लिन पनि घन्टौ हिडेर वालिङ्ग जानू पर्थ्यो म पनि सानैमा १/२ चोटि खाली खुट्टै पछि लागेर गएको याद आयो। आमाले प्रसाद कचौरामा भाग लगाउदै हाम्रो पालोमा यहाँ स्याल दगुर्थ्यो अहिले मोटर गुड्ने भयो अझै पछि कस्तो हुने हो आमाले पहिला पहिलाको कुराहरु सुनाउदै प्रसाद कचौरामा राख्दै जा यो प्रसाद बाढेर आइजो भन्दै मलाइ बाढ्न लगाउनु भयो,मैले प्रसाद बाढन तलतिर जाँदै थिए कसैले मलाइ बोलाए जस्तो सुने ।

ढोडे

कसैले नसुन्ने मैले मात्रै सुन्ने ठाउमा श्रीमतिले मलाइ ढोडे भनेर बोलाउथिन । यो शब्द उनको प्यारो शब्द थियो,पुट्ट पेट लागेको मोटो मोटो ढाडे बिरालो जस्तो ज्यान भएर होला मलाइ ढोडे भनेर बोलाथिन,उनले यसरी बोलाउदा म खिस्रीक हासी दिन्थ्ये । म खिस्रीक्क हासे । सिरक तान्दै उनले अझै चर्को स्वरमा अझै उठ्ने बेला भाछैन  ढोडे १२ बजिसक्यो अझै सपनामै हास्दैछ। म झसङ्ग भए,आँखा मिच्दै घडी हेरे १० बजेको रैछ। म त सपना पो देखिरहेको रैछु। बेलैमा सुते पो बेलैमा उठिन्छ श्रीमती कराउदै थि,म आँखा मिच्दै बाहिर निस्के बार्दलिमा बरन्डा समाउदै दयाबाया हेरे,उराठ लाग्दो,सुनसान,चकमन्न,झ्याउकिरि झ्याउ झ्याउ कराएको,१/२ वटा मोटरसाइकल धुवा उदाउदै गुडेका,सडकका दायाबाया भाइ भाइ छुट्टिएर २/४ वटा घर मात्रै थपिएका बाकी त्यस्तो चापाकोट्को सपना देखे आखिरी चापाकोट त म केटाकेटी हुदा जस्तो थियो आज पनि त्यस्तै रहिछ,आफ्नै जन्मस्थल चापाकोट देखेर आफैलाइ उदास लाग्यो अनि भन्न मन लाग्यो “कठै चापाकोट तिम्रो मुहार कहिले फेरिन्छ”

  रबिन श्रेष्ठ
चापाकोट नगरपालिका ८ स्याङ्जा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय