विद्यालय बन्द नगरौं,विधेयक हामी सच्याउँछौं : महामन्त्री थापा

२०८० आश्विन ४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,४ असोज । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गर्नुभएको छ।

उहाँले बिहीबार सामाजिक सञ्जालमा लेख्दै शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताउनुभएको छ।

‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौं,’ उहाँले भन्नुभएको छ।

शिक्षा विधेयक संसदमा दर्ता भइसकेकाले त्यसमाथि छलफल गर्ने र संशोधन गर्ने जिम्मा आफूहरूको भएको पनि उहाँले बताउनुभयो। शिक्षकहरूले राखेका मागलाई सम्बोधन गर्ने विषयमा पनि आफूहरू प्रतिबद्ध रहेको उहाँको भनाई छ।

‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो,’ उहाँले लेख्नुुभएको छ, ‘हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं। आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौं।’

उहाँले शिक्षकहरूलाई आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गर्न पनि आग्रह गर्नुभएको छ।

‘यसै विषयमा सरकारसँग पहिलो चरणको छलफल समेत भएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिक्षकको प्रतिनिधि टोलीले बिहीबार बिहान छलफल गरेका हुन्। तर छलफल निष्कर्षबिहीन भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय