एनसेल प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष विद्यार्थी संगठनहरूको विरोध

२०८० मंसिर १९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१९ मंसिर। एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । सत्ता गठबन्धन निकट र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीहरुले यसको विरोध गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुले मंगलवार एनसेल कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

एनसेलको ८० प्रतिशत शेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रालाइट लिमिटेडले खरिद गरेको थियो । त्यसमा कर छलीको आंशकामा विभिन्न टिकाटिप्पणी हुँदै आएको छ ।

यसैगरी सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले पनि संयुक्त विज्ञप्ति निकालेर एनसेलको शेयर खरिदबिक्री प्रकरणको विरोध गरेका छन् ।नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूकी अध्यक्ष आरती लामा, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सी, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव र अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुँवरले जारी गरेको संयुक्त विज्ञप्तिमा एनसेलका पछिल्ला गतिविधिमाथि अनुसन्धान र कारबाही गर्न सरकारसँग माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार