स्याङ्जामा सुन्तला उत्पादन घट्यो

२०८० पुष २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २ पुष । स्वादिलो र मिठो सुन्तलाले परिचित स्याङ्जामा गत वर्ष तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष २२ हजार मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष भने उत्पादन घटेर १९ हजार ८७ मेट्रिकटन सुन्तला उत्पादन भएको हो ।

गत वर्ष १ अर्ब ३८ करोडको सुन्तला उत्पादन भएको जिल्लामा चालु वर्षमा १ अर्ब १४ करोड ५२ लाख २० हजार रुपैयाँको सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनले ४० बगैँचामा क्रप कटिङ गरेपछि सुन्तला उत्पादनको औसत सार्वजनिक गरिएको हो ।

यो वर्ष उत्पादन घटे पनि बिक्री मूल्य भने औसतमा कृषकले राम्रो पाउने प्रारम्भिक अनुमान गरिएको छ । गत वर्ष प्रतिकिलो ५५ रुपैयाँमा सुन्तला बिक्री भएको थियो भने यो वर्ष औसतमा ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ । स्थानीय सुन्तला रसिलो र दाना चिल्लो हुने भएकाले स्याङ्जाको सुन्तला उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । यस वर्ष ३० प्रतिशत सुन्तला बिक्री भएको छ भने बाँकी ७० प्रतिशत सुन्तला बोटमै छन् ।

चालु वर्ष सुन्तला फूल्ने मुख्य समयमा खडेरी र असिना परेपछि उत्पादनमा कम आउँदा पतेरा र औँसा किराका कारण दाना झरेपछि सुन्तला उत्पादनमा कमी आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका वरिष्ठ कृषि विकास अधिकृत माधवप्रसाद लम्सालले एक वर्ष बाक्लो तथा अर्को वर्ष पातलो सुन्तला फल्ने गरेको र यसवर्ष पातलो नै फलेको बताए ।

जिल्लामा सुन्तला उत्पादन क्षेत्र २२ सय हेक्टर रहेको छ । उत्पादनशील बगैँचाको क्षेत्रफल १ हजार ३ सय २० हेक्टर रहेको छ भने ८ सय ८० हेक्टर जग्गामा बेर्ना बगैँचा रहेका छन् । स्याङ्जामा सुन्तला उत्पादन प्रतिबोट ४८ किलो छ भने प्रतिहेक्टर १४ हजार ४ सय ६० किलो अर्थात् १४.४६ मेट्रिकटन रहेको छ ।

जिल्लामा उत्पादित सुन्तला आन्तरिक बजारमा १० प्रतिशत अर्थात् १ हजार ९ सय ८७.२ मेट्रिकटन खपत हुने गरेको छ । उत्पादित ९० प्रतिशत सुन्तला अर्थात् १७ हजार १७८.४८ मेट्रिकटन सुन्तला छिमेकी बजार पोखरा, बुटवल र चितवनमा बिक्री हुदै आएको छ ।

११ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुँदै आएको छ । पुतलीबजारमा ८ सय ५० हेक्टर, भीरकोटमा ३ सय ५०, वालिङमा २ सय ४०, गल्याङ्मा १ सय ३० हेक्टर र चापाकोट नगरपालिकामा नगन्य क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ ।

उता गाउँपालिका तर्फ अर्जुनचौपारीमा २७०, आँधीखोलामा १२५, फेदिखोलामा ३५, बिरुवामा १५५, हरिनासमा ४५ हेक्टर र कालिगण्डकी गाउँपालिकाका अति कम क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय