स्याङ्जाका ११ स्थानिय तहमा पहिलो बन्यो भिरकोट नगरपालिका

२०८० फाल्गुन १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, १० फागुन । आर्थिक वर्ष २०७९/०८० मा स्थानीय सरकारले गरेको कार्य सम्पादन मूल्यांकनमा जिल्लाका ११ पालिका मध्ये भीरकोट नगरपालिका जिल्लामा पहिलो भएको छ । कार्य सम्पादनलाई आधार बनाएर राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा भीरकोट पहिलो भएको हो ।

आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा भीरकोटले ४६ दशमलब २५ अंक प्राप्त गर्दैै जिल्लामै पहिलो भएको छ । ५ नगर र ६ गाउँपालिका रहेको स्याङ्जामा कालिगण्डकी गाउँपालिका ४३ दशमलब ०२ अंक प्राप्त गर्दै दोस्रो बन्न सफल भएको छ ।

मूल्यांकनमा ४२ दशमलब ३२ अंक प्राप्त गर्दै फेदिखोला गाउँपालिका तेस्रो भएको छ भने वालिङ नगरपालिकाले ४१ दशमलब ४९ अंक प्राप्त गरि चौथो भएको छ । ४१ दशमलब ३७ अंक प्राप्त गरेको गल्याङ् नगरपालिका जिल्लामा पाँचौ स्थानमा रहन सफल भएको आयोगले प्रकाशित गरेको प्रतिवेदनले देखाएको छ ।

आयोगले जारी गरेको प्रतिवेदनमा कार्य सम्पादनमा ३९ दशमलब ३३ अंक प्राप्त गरेको अर्जुनचौपारी गाउँपालिका छैटौं स्थानमा छ भने बिरुवा गाउँपालिकाले ३७ दशमलब ४० अंक प्राप्त गर्दै जिल्लाका पालिका मध्ये सातौं स्थानमा छ ।

जिल्ला सदरमुकामको नगरपालिका पुतलीबजार नगरपालिकाले ३५ दशमलब ४७ अंक प्राप्त गर्दै आठौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । नबौं स्थानमा परेको आँधीखोला गाउँपालिकाले भने ३३ दशमलब ९५ प्रतिशत कार्य सम्पादन गर्न सफल भएको देखिन्छ ।

दशौं र एघारौं स्थानमा पर्दै कार्य सम्पादन गर्ने पालिकामा चापाकोट नगरपालिकाले २८ दशमलब ३२ र हरिनास गाउँपालिकाले २२ दशमलब ७३ अंक प्राप्त गर्न सफल भएका छन् ।

आयोगले १० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असारभित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए÷नदिएको लगायतका आधारमा मूल्यांकन गरेको देखिन्छ ।

स्थानीय तहले आगामी आवको आय÷व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए÷नपठाएको, स्थानीय तहले बजेटको वार्षिक समिक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको जस्ता आधारमा अंक दिइएको आयोगले जनाएको छ ।

आन्तरिक राजस्व संकलनको अनुमानित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग लगायतका पक्षलाई हेरेर आयोगले मूल्यांकन गरेको बुझिन्छ ।

स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र स्थानीयस्तरका विकासे योजनाको आवधिक योजना तर्जुमा गरे÷नगरेको पनि आयोगले मूल्यांकन गरेको छ । विद्यालय भर्ना बालबालिकाको संख्या, टिकाउ दर, सामुदायिक विद्यालयबाट एसईईमा प्राप्ते ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्या जस्ता १४ वटा सुचकमा आयोगले मुल्यांकन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार