काठमाडौँ, २७ फागुन । राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ । बैठकमा राष्ट्रियसभा सदस्यहरुले राष्ट्रिय आवश्यकता तथा आकांक्षाको पहिचान गरि बजेट तर्जुमा गर्नुपर्ने धारणा राखेका थिए । बैठकमा समिति सदस्य सांसद सुरेशकुमार आलेमगरले ऊर्जा, कृषि र पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर बजेटको सिद्धान्त र प्राथमिकतामा बनाइनुपर्ने बताउनुभयो ।
सत्तासमिकरणको बिषयलाई राजनीतिमा स्वभाविक रुपमा लिनुपर्ने भन्दै कसैले असन्तुष्ट व्यक्त गर्न नपर्ने उहाले बताउनुभयो । उहाले आफुसंग हुँदा इमान्दार र नहुँदा बेइमान भन्न नमिल्ने धारणा राख्नुभयो ।
त्यस्तै अर्का सदस्य जगतबहादुर पार्कीले मुलुकको आवश्यकतालाई केन्द्रविन्दुमा राखेर नयाँ समिकरण बनेको भन्दै यसले देशको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले आगामी आर्थिक वर्षको बजेट बनाउँदा मुलुकको आर्थिक, शिक्षा स्वास्थ्य, रोजगारलगायतका अवस्थाको गम्भीर विश्लेषण गरेर तयार पारिनुपर्ने धारण राख्नुभयो ।
त्यस्तै राष्ट्रियसभा सदस्य युवराज शर्माले कांग्रेससंगको सहकार्यमा प्रधानमन्त्रीले कांग्रेसप्रति लगाएका आरोप सत्य नभएको बताउनुभयो । उहाले न्यून राजस्व सङ्कलन, पुँजीगत खर्चमा न्यूनता, लगानीमा कमी र बढ्दो सार्वजनिक ऋण, घट्दो बजार मागलगायतका समस्या देखिएको बताउनुभयो ।
त्यस्तै राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले बजेटको सिद्धान्त र प्राथमिकतालाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । त्यस्तै अन्य सदस्यहरुले सद्धान्त र प्राथमिकताका आधारमा बन्ने बजेट मुलुकको अर्थतन्त्रको सङ्कट समाधान गर्ने, आन्तरिक उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने दिशातर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका थिए ।