सकारात्मक सोच मार्फत सशक्त समाज निर्माणतर्फ गल्याङको पहल

२०८२ बैशाख २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल 

स्याङ्जा ,२२ वैशाख । गल्याङ नगरपालिकाले महिलाहरूको मनोबल अभिवृद्धि गर्दै समाजमा सकारात्मक सोच प्रवाह गर्ने उद्देश्यले तीन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगर भित्र क्रियाशील आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुलाई लक्षित गर्दै गल्याङ नगरपालिकाको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा नगर क्षेत्रका विभिन्न आमा समूह तथा वडा सदस्यहरू सहित करिब एक सय जनाको सहभागिता रहेको थियो । सहभागीहरूलाई तीन दिनसम्म सकारात्मक सोच, नेतृत्व विकास तथा व्यवहारिक सीपसम्बन्धी प्रशिक्षण दिईएको थियो । तालिममा प्रशिक्षकको रूपमा अधिवक्ता शुष्मा पौडेल, गल्याङ एफएमका सञ्चालक के।पी। खनाल र गल्याङ नगरपालिका शिक्षा समिति सदस्य दर्बेन्द्रदेव खनालले प्रशिक्षण दिनुभएको थियो ।

समापन समारोहमा बोल्दै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले व्यक्ति सकारात्मक भए समाज परिवर्तन सम्भव हुने धारणा व्यक्त गर्नुभयो । उहाँले समाजमा बढ्दो नकारात्मक सोचको प्रवृत्तिलाई नियन्त्रण गर्न सबैले आ(आफ्नो स्थानबाट सकारात्मक पहल गर्नुपर्नेमा जोड दिनुभयो । तीन दिनको तालिममा सिकिएको ज्ञान व्यवहारमा लागू गर्दै त्यसलाई समुदायमा फैलाउन आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रमको अध्यक्षता गर्नुभएकी गल्याङ नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले तालिम अत्यन्त प्रभावकारी भएको बताउँदै सहभागी महिलाहरूले आफ्ना टोल र समूहहरूमा तालिमको निरन्तरता दिनुपर्ने बताउनुभयो । सिकेको ज्ञान साझा गर्दै अरुलाई समेत सकारात्मक सोचतर्फ अभिप्रेरित गर्न सके प्रभाव अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले छोटो अवधिको भए पनि तालिम प्रभावशाली र उपयोगी भएको बताउँदै धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन सञ्चारिका समूह स्याङ्जाकी अध्यक्ष साधना न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय