स्याङ्जामा एमाले बाट निर्वाचित मानन्धरकाे सरकार प्रमुख र पार्टी छोड्ने घोषणा

२०८१ बैशाख ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, ९ बैशाख । स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले पार्टीको चुनावी प्रक्रियामा असन्तुष्टि पोख्दै स्थानीय सरकार प्रमुख र पार्टीको जिम्मेवारी छोड्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा उनले आइतबार बिहान स्टाटस लेख्दै नेकपा (एमाले) पार्टीको गत चैत अन्तिममा सम्पन्न नवौँ जिल्ला अधिवेशनको पदाधिकारीमा हरूवालाई अवसर दिएको भन्दै दुबै पद छोड्ने घोषणा गरेका हुन् ।

मानन्धर २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा हरिनास गाउँपालिका अध्यक्षमा निर्वाचित भएका नेता हुन् । उनी हरिनास गाउँपालिकाको एमाले गाउँ कमिटीको अध्यक्ष समेत हुन् । उनले आफूजस्ताको योगदानको अवमूल्यन भएको जिकिर गरेका छन् ।

२०७४ पछि एक हजार जतिलाई पार्टी प्रवेश गराएर दोस्रोपटकको चुनावमा गठबन्धनलाई पराजित गरी जितेको मजस्ता ठेट्नाहरूको पार्टीमा कुनै स्थान र मूल्याङ्कन नरहेका कारणले मलाई यो पार्टीमा बसिरहन मन लागेन उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले आफूले कुनै पार्टीको कार्यक्रममा नजाने र सदस्यता नलिने उद्घोष गरेका छन् । एमाले सचिव पद्मा अर्याल र प्रतिनिधिसभाका पूर्व सदस्य र २०७९ मा पराजित नारायण मरासिनीले गोजीबाट निकालेर जिल्ला कमिटीमा पदाधिकारी छानेको मानन्धरको आरोप छ ।

मानन्धरले अध्यक्षमा २०७४ को निर्वाचनमा प्रदेश सांसद र २०७९ मा गल्याङ् नगरपालिकाको मेयर हारेको भनेर सूर्य गैरे (पारस) लाई लेखेका हुन् । उता उपाध्यक्षमा पुतलीबजार नगरपालिकाको उप–प्रमुखमा हारेको भनेर नाम नलेखे पनि महेश पुरीलाई भनेका हुन् ।

त्यसैगरी सचिवमा चयन भएका रामचन्द्र भट्टराई एकीकृत समाजवादी पार्टीबाट हालैमात्र एमाले प्रबेश गरेका हुन् । उप–सचिव बनेका चिनमाया गुरुङ् अर्जुनचौपारी गाउँपालिकामा उपाध्यक्ष पराजित हुन् भने पुतलीबजार नगरपालिका वडा नं. ३ को वडाध्यक्षमा पराजित अमृत श्रेष्ठलाई नाम उल्लेख नगरि विभिन्न पदमा हारेको भनेर सामाजिक सञ्जालमा मानन्धरले पद मात्रै लेखेका छन् ।

गएको चैतमा २३ मा भएको एमाले स्याङ्जाको अधिवेशनमा अध्यक्षमा सूर्य गैरे (पारस) सहित पदाधिकारी सर्वसम्मत चयन भएका थिए । मानन्धरले नाम उल्लेख गरेका अर्याल र मरासिनीले चाहेका व्यक्ति नै पदाधिकारीमा अटाएका छन् । श्रोतका अनुसार मानन्धर उप–सचिव बन्न चाहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय