काठमाडौँ, १७ वैशाख । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा साझेदारी’ को नीतिअनुसार ठूलो लगानीका मुख्य परियोजना अगाडि बढाउने सोच राखेको छ । त्यसका लागि ठूला परियोजना निर्माणमा स्वदेशी लगानी पर्याप्त नहुने भन्दै नेपालले विदेशी लगानीकर्तालाई ‘लगानी साझेदार’ बन्न बढी जोड गरिरहेको देखिन्छ ।
लगानी बोर्डका अनुसार सम्मेलनको पहिलो दिन दुई हजार एक सय ६३ जनामध्ये छ सय ८० जना विदेशी प्रतिनिधि सहभागी भएका छन् । त्यसमा पनि छिमेकी मुलुक भारतबाट एक सय ८६ र चीनबाट दुई सय ४० जनाको सहभागिता रहेको थियो । ६० देशका प्रतिनिधि एकैथलोमा जम्मा भएको अवसरको सदुपयोग गर्दै नेपालले उहाँहरूलाई ठूला परियोजनामा लगानी साझेदारीका लागि आग्रह गरिरहेको छ । उहाँहरूलाई आश्वस्त पार्न नेपालमा लगानीमैत्री वातावरण रहेको सकारात्मक सन्देश प्रवाहका लागि पनि नेपालले भरमग्दूर प्रयास गरिरहेको छ ।
लगानी सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दैै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बाह्य र आन्तरिक लगानीका लागि उपयुक्त स्थान रहेको भन्दै ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको थियो । उहाँले नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक व्यावसायिक कर प्रणालीलगायत महत्वपूर्ण व्यवस्थाको सुनिश्चितता प्रदान गरेको बताउनुभएको थियो ।