युवराज पौडेल
स्याङ्जा ,२१ साउन । आँधीखोला गाउँपालिकाले पालिका अन्तर्गतका उत्कृष्ट विद्यालय, विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान गरेको छ । उत्कृष्टहरुलाई सम्मान तथा शैक्षिक गुणस्तरका लागि सरोकारवालाहरू बिचको अन्तरक्रिया कार्यक्रममा शैक्षिक सत्र ०८०/०८१ मा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय, विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा कक्षा ५ को परीक्षामा उत्कृष्ट विद्यालयका रुपमा श्री बास्केट आधारभूत विद्यालदय सम्मानित भएको छ भने कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा दिन सफल जनप्रिय मावि कमेरेलाई सम्मान गरिएको छ । एसइइमा उत्कृष्ट नतिजा दिएको भन्दै जनप्रदिप माबि चिलाउनेबासलाई र कक्षा १२ को भर्खरै प्रकाशित नतिजामा उत्कृष्टता हासिल गरेकोले प्रघुम्न पनेरू माबि रङ्गेठाँटीलाई सम्मान गरिएको छ ।
पालिका भरिमा सर्वोत्कृष्ट विद्यार्थीहरुमा जनप्रदिप माविकी स्वेता पौडेल र जनप्रदीप माविका सक्षम पौडेल, कक्षा ८ मा शारदा मन्दिर माविका मनिषा ढकाल र त्रिसहिद माविका हृदयेश पोख्रेल रहेका छन् । एसइइमा उत्कृष्ट विद्यार्थीहरुमा प्रद्युम्न पनेरुका आकाश नेपाली र शारदा मन्दिर माविका अजिता अधिकारी सम्मानित भएका छन् ।
उक्त अवसरमा शैक्षिक सत्र २०८०र०८१ मा बढुवा भै सम्मानित हुने शिक्षकहरू समेत सम्मान गरिएको थियो । सम्मानित हुने शिक्षकहरुमा प्रकाशबहादुर कार्की, ख्यामनारायण लामिछाने, मेखबहादुर क्षेत्री, लेखमाया पौडेल, बाटुली पौडेल अधिकारी, गुमादेवी पौडेल र विन्दिया शर्मा रहेका छन् ।
उक्त अवसरमा बिद्यालयहरूलाई आबश्यकता र प्राथमिकताको आधारमा प्रोत्साहन स्वरूप गाउँपालिकाले स्मार्ट बोर्ड, कम्प्युटर, प्रिन्टर लगायतका शैक्षिक तथा भौतिक सामग्रीहरु प्रदान गरेको छ । उक्त कार्यक्रममा बोल्दै शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले सबै विद्यालय शिक्षक समुदाय र पालिकाको सहकार्यबाट शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताउनुभएको थियो ।
अन्तरक्रियाबाट आगामी दिनमा शैक्षिक स्तर गुणस्तरीय सुधारमा अबलम्बन गर्नुपर्ने बिषयमा कार्ययोजना तयार गरी लागू गर्ने सबैबाट सामुहिक प्रतिबद्धता व्यक्त भएको गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो ।