त्रिभुवन क्याम्पस मालेबगर कक्षा १२ को नतिजामा पुतलीबजारमा उत्कृष्ट

२०८१ श्रावण २५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का

स्याङ्जा , २५ साउन । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको त्रिभुवन आदर्श बहुमुखी क्याम्पस मालेबगरले यस वर्षको कक्षा १२ को नतिजामा पुतलीबजारमै सबैभन्दा उत्कृष्ट नतिजा दिन सफल भएको छ ।

स्नातकोत्तरअन्तर्गत एमएबिएस र एमएडको अध्यापन हुने उक्त क्याम्पसमा कक्षा ११ र १२ मा व्यवस्थापन र कानुन विषयमा गरी २४ जना विद्यार्थीले परीक्षा दिएकोमा २० जनाले उत्तीर्ण गरी पुतलीबजारमा सबैभन्दा उत्कृष्ट नतिजा दिएको छ । ८३।३३ प्रतिशत उत्तीर्ण गरी उत्तीर्ण प्रतिशतका आधारमा कलेजले पुतलीबजारमा प्रथम स्थान हासिल गरेको हो । त्यसै गरी दोस्रो स्थानमा सरस्वती मावि नागडाँडा ५८।३३ प्रतिशत र तेस्रो स्थानमा मातृभूमि माविले ५४।५५ प्रतिशत विद्यार्थी उत्तीर्ण गरेको छ ।

उत्तीर्ण विद्यार्थीहरुलाई त्रिभुवन कलेजले एक कार्यक्रमका साथ सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका सदस्य तथा प्राध्यापक सङ्घका सभापति शङ्कर लामिछानेले स्वच्छ र शान्त वातावरणमा योग्य प्राध्यापकहरुद्वारा प्रयोगात्मक तरिकाले अध्यापन गर्दा नतिजा राम्रो आएको बताए ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रमोद पंज्ञानी, पूर्व क्याम्पस प्रमुख अर्जनुबन्धु अर्याल, प्लस टु संयोजक कृष्णप्रसाद लामिछाने, प्राध्यापक सोमनाथ लम्साल र युवराज पौडेल, स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति महादेव क्षेत्री प्रशासन प्रमुख फणिन्द्र पौडेल लगायतले उत्तीर्ण विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय