स्याङ्जामा २० करोडको सुन्तलामा क्षति

२०८१ कार्तिक २७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल

स्याङ्जा, २७ कार्तिक । स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । विभिन्न रोगकिरा र प्राकृतिक प्रकोपका कारण सुन्तालमा २० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जानकारी दिएको छ ।

पतेरोको आक्रमण, फल कुहाउने औंसा किरा र असिनाकाका कारण सुन्तलामा ठूलो क्षति भएको ज्ञान केन्द्रका बागबानी विकास अधिकृत विकाश विकले बताउनुभयाे । उहाँका अनुसार साउनदेखि नै पतेरो लागयतका रोग किराका कारण नोक्सानी भोगेका किसानले पछिल्लो ४ कात्तिकमा परेको असिना पानीले झनै क्षति बेहोर्नु परेको छ ।

असिना ठूला नपरेको भएपनि सानो असिना बाक्लो परेको र त्यसले चोट लागेको सुन्तला विस्तारै संक्रमित भएर झरेको कार्यालयका प्रवक्ता समेत रहेका बागबानी विकास अधिकृत विकले जानकारी दिनुभयाे । पछिल्लो असिना पानीका कारण स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ का साथै भीरकोट नगरपालिकाको वडा नम्बर ७ मा धेरै क्षति पुगेको छ ।

असिना पानीकै कारण त्यस क्षेत्रका किसानको ५० लाखको हाराहारीमा सुन्तला झरेर नष्ट भएको उहाँले बताउनुभयाे । स्याङ्जामा यो वर्ष साउनदेखि पतेरो, फल कुहाउने औंसा किरा र असिना पानीले गर्दा फलमा चोट लागेर भएको संक्रमणका कारण समग्रमा २० करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ उहाँले बताउनुभयाे ।

किसानले सुन्ताला टिप्ने समय आउन अझै झण्डै एक महिना बाँकी छ । मंसीरको अन्तिमदेखि पुस महिनाभर बारीमा पुगेर व्यवसायीहरुले सुन्ताला लैजाने गर्दछन् । पुतलीबजार ११ का किसान चित्रबहादुर थापाले सुन्तला दिन प्रतिदिन झर्दै गएको र अहिले बोटमा भन्दा धेरै भुइमा झरेको बताउनुभयाे ।

उहाँले सुन्तला टिप्न नै नपाइने होकी भन्ने चिन्ता लागेको सुनाउनुभयाे । “सुन्तला फूल खेल्दैदेखि झर्न थालेको हो ।” उहाँले भन्नुभयाे, “अहिले जति टिप्ने बेला भयो त्यति धेरै झर्दै गएको छ ।” सबै झरेर टिप्न नै नपाइने हो की भन्ने चिन्ताले सताएको थापाले बताउनुभयाे ।

स्याङ्जामा एक हजार पाँच सय हेक्टर उत्पादनशील क्षेत्रमा सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयाे । प्रति हेक्टर १६ मेट्रिक टनका दरले उत्पादन हुने गरेको छ । यस वर्ष एक अर्ब ४४ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने र एक अर्ब रुपैयाँ बराबरको सुन्तला निर्यात गरिने कार्यालय प्रमुख हमालले जानकारी दिनुभयाे ।

जिल्लाका किसानहरु सुन्तला खेती तर्फ आकर्षित हुने क्रम बढ्दो छ । विगतका वर्ष र चालु वर्षमा लगाईएको सुन्तलाले आगामी वर्षहरुमा उत्पादान दिदै जाँदा बढ्दै जाने ज्ञान केन्द्रको अनुमान छ । जिल्लामा उत्पादीत सुन्तला निर्यात हुनुका साथै चालु वर्षदेखि सुन्तलाबाट वाईन बनाउने उद्योग समेत संचालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय