बुटवल ,२८ पुस। भिजन लुम्बिनी लिमिटेड र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको अध्यक्षमा पुन ः जगत पोखरेल निर्वाचित हुनुभएको छ । दुवै संस्थाको बुटवलमा सम्पन्न छुट्टा छुट्टै साधारण सभाले संस्थापक अध्यक्ष पोखरेललाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
उहाँले दुवै कम्पनीका लगानीकर्तालाई पारदर्शी र अति मेहनेतका साथ परिचालन गरिएको र उल्लेख्य प्रगती भएको विवरणहरु पेश गर्नु भएको थियो । बुटलबाट सुरु भएको दुवै कम्पनी मध्ये भिजन लुम्बिनी लिमिटेडमा एक हजार र उर्जा कम्पनीमा १८ सयभन्दा बढी लगानीकर्ता देशभरीका रहेका छन् । भिजन लुम्बिनी कम्पनीले उर्जा, लघुवित्त, लघुविमा, यातायात, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानी गरेको छ भने उर्जा कम्पनीले कास्कीमा सेतीनदी जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । आयोजनाको काम सुरु गरेको झण्डै चार बर्षको अवधिमा २५ मेगावाटको जलविद्युत उत्पादन गरेर विद्युत प्राधिकरणलाई बेच्न सफल भएकोमा लगानीकर्ताहरुले साधारण सभामा अध्यक्ष पोखरेलसहित वोर्ड सदस्य र कर्मचारीहरु सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनीहरुले आगामी दिनमा पनि यस्तै उदाहरणीय र प्रशंसनीय आयोजनाहरु बनाउन नेतृत्वलाई प्रोत्साहन गर्दैै आफूहरु थप लगानी गरेर साथ दिन तयार रहेको प्रतिवद्धता जनाएका थिए ।
साधारण सभामा अध्यक्ष पोखरेलले भिजन लुम्बिनी कम्पनी मार्फत चाडैँ शिक्षा, सूचना प्रविधि, ट्रमा सेन्टर निर्माण, एकिकृत कृषि, सौर्य उर्जा उत्पादन, विद्युत आयोजनाहरुको मर्मत, सर्वेक्षण, निर्माण, अध्ययन अनुसन्धान, लगायतका कामहरु गर्ने योजना रहेको पनि जानकारी दिनु भएको थियो ।
उर्जा कम्पनीको साधारण सभाबाट संचालक समितिको सदस्यमा सुदिपसिंह अधिकारी, बमबहादुर गुरुङ, राजेन्द्र अधिकारी र नेहा अग्रवाललाइ चयन गरिएको छ। त्यसैगरी भिजन लुम्बिनी कम्पनीको संचालक सदस्यमा कुलबहादुर केसी, गिरिप्रसाद गैरे, कुशव कुँवर, मोहनलाल जोशी, महाप्रसाद सुवेदी, शिवप्रसाद पाण्डे, राजिब गौतम, कमला पोखरेल शर्मा पराजुली, प्रकाश पौडेल र टेकराज रेग्मी सर्वसहमत निर्वाचित हुनु भएको निर्वाचन अधिकृत महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
दुवै साधारण सभाले अध्यक्षको प्रतिवेदन र लेखापरिक्षकको प्रतिबेदन पारित गर्ने लगायतका निर्णयहरु पनि गरेका छन् । कार्यक्रममा उत्कृष्ट योगदान गर्ने लगानीकर्ता, कर्मचारीसँगै पत्रकारद्धय जीवन भण्डारी र कपिल ज्ञवालीलाई सम्मान गरिएको थियो ।