हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति

२०८१ फाल्गुन ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

खोटाङ ,५ फागुन । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ । ग्याँस लिक हुँदा सुरु भएको आगोले भीषणरुप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । पदमशेर राईको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा आगलागी सुरु भएको थियो ।

काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा खाना पकाउने ग्यास लिक भएर सुरु भएको आगोले भीषणरुप लिएको थियो । आगलागीबाट पदमशेरको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरको दोश्रो तलामा रहेको निर्धनउत्थान लघुवित्त संस्थाको कार्यालय समेत जलेर खरानी भएको छ । नजिकै रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भईरहेको चारतले पक्की घर र पछाडीसँगै रहेको निजकै काठको दुईतले घरमा पुर्ण क्षति हुँदा दुई करोड ५० लाख क्षति भएको छ ।

प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणसेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोश्रो र तेश्रो तलामा आंशिक क्षति हुँदा ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयले रिजर्भ गरेर राखेको पानी ट्याङकरले ओसार आगलागी नियन्त्रण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिनुभयो ।

आगलागी नियन्त्रणका लागि पानी बोक्ने, ट्याङकरसहित जेसिबी लगायतका मेसिनहरु पनि प्रयोग गरिएको थियो । आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख राइले आगलागी पीडितलाई केहि भएपनि सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय