क्रान्ति अर्याल
स्याङजा,८ फागुन । गल्याङ जेसीजले विभिन्न समयमा फरक फरक रचनात्मक कार्य गर्दै आईरहेको छ । जस अन्तर्गत बुधवार गल्याङ जेसीजको आठौं स्थापना दिवसको अवसर पारेर विद्यालयमा शैक्षिक सामाग्री वितरण देखि दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । सोहि क्रममा गल्याङ नगरपालिका ७ कल्लेरी स्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो ।
उक्त कार्यक्रम गल्याङ नगरपालिका वडा नं ७ का वडाअध्यक्ष झविलाल पाण्डेको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक विनोद रानाको विशेष उपस्थितिमा २४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । जसमा कापी, पेन्सिल, इरेजर, कलर सेट, घडी लगायतका सामग्री वितरण गरिएको हो । त्यस्तै विद्यालयलाई भलिबल र अन्य खेलकुद सामग्री समेत प्रदान गरिएको थियो ।
गल्याङ जेसीज वर्ष २०२५ को यो पहिलो कार्यक्रम रहेको गल्याङ जेसीज वर्षका अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकले जानकारी दिनुभयो । उहाँले यस कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक र खेलकुद गतिविधिमा प्रोत्साहन गर्ने उद्देश्य राखेको समेत बताउनुभयो । त्यसैगरी अध्यक्ष पाठकले गल्याङ जेसीजले आगामी दिनहरूमा पनि समुदायको हितका लागि विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस किसिमका पहलहरूले विद्यार्थीहरूको शैक्षिक विकासमा योगदान पुर्याउने मात्र नभई स्थानीय विद्यालयहरूसँगको सहकार्यलाई पनि सुदृढ बनाउने विश्वास लिइएको बताउनुभयो ।
उक्त कार्यक्रमको सञ्चालन सचिव विष्णु भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य गल्याङ जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश पंगेनी र जेसीज आस्था उपाध्यक्ष जेसी प्रकाश भट्टराईले गर्नुभएको थियो ।
त्यसैगरी गल्याङ जेसीजले बुधबार ७५ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा गल्याङ नगरपालिका वडा नं ३ का वडाअध्यक्षको प्रमुख आतिथ्यतामा गल्याङ बजारमा दीप प्रज्वलन कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त कार्यक्रममा गल्याङ जेसीजका सम्पुर्ण सदस्यहरु, स्थानीयबासी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।