काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले देशको हितका लागि ल्याइएको अध्यादेशको विरोध गर्नु उचित नभएको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न र अर्थतन्त्रलाई बलियो बनाउन अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोध गर्नु उचित नभएको बताउनुभएको हो । अध्यादेश पास गर्नुको विकल्प नरहेकाले अध्यादेशका पक्षमा साथ दिन उहाले आग्रह समेत गर्नुभयो ।
भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि भूमिसम्बन्धी अध्यादेश ल्याइएको उहाको भनाइ छ । उहाले शासन व्यवस्थाअनुसार कानुन परिवर्तन गर्नुपर्ने भएकाले त्यसले त्यसतर्फ ध्यान केन्द्रीत गरेको उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले मुलुक संघीयतामा गएपछि बिकास निर्माणका धेरै काम भएको जिकिर गर्नुभयो ।
उहाले मुलुकलाई रुपान्तरण गर्ने नीतिलाई सहि बनाउदै देश र जनताको हितमा अघि बढ्ने बताउनुभयो । लोकतन्त्र खतरामा पर्न लागेको महशुस गरी कांग्रेस र एमालेजस्ता दुई ठूला राजनीतिक दलको गठबन्धनको जरुरी परेको उहाले बताउनुभयो ।