काठमाडौं,२८ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो बिकासका लागि पुराना ऐन कानूनका साथै कार्यशैलि परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको टेलिकम उद्योग पुनरुथान कार्यक्रममा मन्त्री गुरुङले टेलिकम उद्योग पुनरुथानका लागि प्रविधिको बिकाससंग अघि बढ्नुपर्ने र पुराना ऐन कानून परिमार्जन हुने जानकारी दिनुभयो । प्रविधिको बिकाससंगै टेलिकम क्षेत्रको बिकास गर्न नयाँ ढंगको जनशक्ति आवश्यक रहेको उहाले बताउनुभयो ।
मन्त्री गुरुङले आफु मन्त्री भएपनि प्रविधिको क्षेत्रमा बिकास गर्न खाजेपनि सोचेजस्तो काम हुन नसकेको उल्लेख गर्नुभयो । उहाले विधेयकहरु लामो समय अड्किदा समयमा नै कानून निर्माण हुन नसकेकाले संसदले नै टाइमलाइन तोकेर विधेयक अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
विधेयक पास गर्न ५–६ बर्ष लाग्ने देखिएकाले सुशासन तथा आर्थिक बिकासका लागि अध्यावश्यक कानून बनाउन अध्यादेश ल्याउनुपरेको उहाले बताउनुभयो । मन्त्री गुरुङले समाजलाई बिभाजित गर्न खोज्ने कामलाई नियन्त्रण गर्न सामाजिक विधेयक आवश्यक परेको धारणा राख्नुभयो । उहाले दुर्गा प्रसाईँजस्ता व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दै धार्मिक तथा सामाजिक सद्भाव भड्काउने काम गरिरहेको आरोप समेत लगाउनुभयो ।
त्यस्तै उहाले दूर सञ्चार ऐनको मस्यौदा तयार भइ संशोधनको अन्तिम चरणमा पुगेको जानकारी दिदै सवैको छलफल र सुझावपछि सदनमा पेश गर्ने जानकारी दिनुभयो ।