भिरकोटमा दलित महिला जनप्रतिनिधिको सशक्तिकरणका लागि नेतृत्व विकासको पहल

२०८१ चैत्र ७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 
स्याङजा,७ चैत । स्याङ्जामा दलित महिला जनप्रतिनिधिको सशक्तिकरणका लागि नेतृत्व विकासको काम गरीएको छ । जातीय विभेद उन्मूलन अन्तर्राष्ट्रिय दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाले सो कार्यक्रम गरेको हो । जसमा भिरकोट नगरपालिकाले समन्वय गरेको हो । सो कार्यक्रम दलित महिला जनप्रतिनिधिहरूको नेतृत्व विकासका लागी गरिएको हो ।

कार्यक्रम पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य सिताकुमारी सुन्दासको प्रमुख आतिथ्यतामा गरिएको हो । कार्यक्रममा स्याङ्जा जिल्लाका स्थानीय तहका दलित महिला वडा सदस्य र कार्यपालिका सदस्यहरू गरी करिब १ सय जनाको उपस्थिति रहेको थियो ।

सोही अवसरमा पूर्वमन्त्री सुन्दासले जातीय तथा लैंगिक विभेदले विकासलाई अवरुद्ध गर्ने बताउँदै दलित महिला जनप्रतिनिधिहरूले सामाजिक जागरण ल्याउन र कानुनी अधिकार सुनिश्चित गर्न सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय उपप्रमुख खडकराज सुवेदीले दलित महिलाहरूको बहुआयामिक सक्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । भिरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्मचार्यले स्थानीय सरकार सिमान्तकृत समुदायको सशक्तिकरण र आयआर्जनमा टेवा पुर्याउने नीति अवलम्बन गरिरहेको जानकारी दिनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दलित समुदायले नागरिकता र व्यक्तिगत घटना दर्तामा भोग्नुपरेका समस्याका समाधानका उपायबारे सहजीकरण गर्दै सामाजिक चेतनाको माध्यमबाट छुवाछुत तथा बालविवाह जस्ता विकृतिहरू अन्त्य गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा योजना तर्जुमा तथा बजेट निर्माणमा दलित महिला जनप्रतिनिधिको भूमिकाबारे प्रशिक्षक लिलबहादुर रम्पालले सहजीकरण गर्नुभएको थियो भने जातीय विभेदसम्बन्धी कानूनी व्यवस्थाबारे प्रहरी इन्चार्ज प्रविण कंडेले प्रशिक्षण गराउनुभएको थियो । भिरकोट नगरपालिका र दलित समुदायको परम्परागत कला तथा सीप विकास संस्थाको सहकार्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय