काठमाडौँ, ९ चैत। ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा रहेका पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्ने बताउनुभएको छ ।
विश्व पानी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय पानी सम्मेलनमा मन्त्री खड्काले नेपालमा रहेका पानीका स्रोतलाई दैनिक जीवनमा मात्रै नभइ मुलुकको आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्ने बताउनुभएको हो । उहाले नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढिरहेको जिकिर गर्नुभयो ।
सबैभन्दा बढी जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भन्दैगर्दा यसको संरक्षणमा लाग्नु अहिलेको आवश्यकता भएको उहाले बताउनुभयो ।
मन्त्री खड्काले जलवायु परिवर्तनका कारण हिमनदीहरुको अवस्था र त्यसबाट श्रृजित समस्याहरुको समाधानका लागि समेत सरकार गम्भीर रहेको भन्दै विभिन्न दातृ राष्ट्रहरुसँग, विकास साझेदारी राष्ट्रहरुसँग यस बिषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने बताइएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा विसं २०६५ सालदेखि जल तथा मौसम सप्ताह मनाउँदै आए पनि यो वर्षदेखि ‘नेपाल राष्ट्रिय हिमनदी जल तथा मौसम सप्ताह’ मनाउन समेत थालिएको छ ।