स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित्

२०८१ चैत्र ९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,९ चैत ।  नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ ।

स्वास्थ्य सेवाको पहुँच विस्तारमा पत्रकारिताको योगदानबाट समाजमा सकारात्मक सुधार गरेको भन्दै पत्रकार सुवेदीलाई यस बर्षको नेशनल हेल्थ अवार्डबाट सम्मान गरिएको हो ।

काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य दर्पण मीडिया नेटवर्कको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा  पूर्व राष्ट्रपति डाक्टर राम वरण यादवले सुवेदीलाई उक्त अवार्ड प्रदान गर्नु भयो ।

कार्यक्रममा संवोधन गर्नुहुँदै पूर्व राष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रको सचेतना र अभिमुखीकरणमा स्वास्थ्य पत्रकारिताको ठूलो भुमिका रहेको समेत बताउनु भयो ।

स्वास्थ्य क्षेत्र अतिनै संवेदनशील क्षेत्र भएकोले सबै सरोकारहरु मर्यादित हुनुपर्ने उहाँको भनाई थियो ।

सो अवसरमा बोल्दै विशिष्ट अतिथि वरिष्ठ पत्रकार एवं स्वास्थ्य दर्पणका संरक्षक किशोर नेपालले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटेका चिकित्कको भूमिकाको मुल्यांकन गर्दै स्वास्थ्य दर्पणले विगत ९ वर्षदेखि निरन्तर सम्मान गरि हौसला बढाउदै आएको बताउनु भयो ।

स्वास्थ्य दर्पण मीडियाले नेपालको सुगमदेखि दुर्गमसम्म बिरामीको उपचारमा खटिएका चिकित्सकको मुल्यांकन गरेर राज्यले गर्न नसकेको काम गर्न सफल भएको समेत नेपालले बताउनु भयो ।

अर्का विशिष्ट अतिथि स्वास्थ्य सचिब डा.विकास देवकोटाले स्वास्थ्यकर्मीहरुले गरेको कामको मुल्यांकन सरकारले गर्नुपर्नेमा स्वास्थ्य दर्पण मीडियाले गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

स्वास्थ्य दर्पण मीडिया नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले नेपालमा स्वास्थ्य क्षेत्र र स्वास्थ्य पत्रकारिता दुबैको प्रवद्र्धन , प्रोत्साहन र समृद्धि को हेतुले स्वास्थ दर्पण मिडिया नैटवर्कले अवार्ड गर्दै आएको बताउनु भयो ।

अवार्ड कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान दिनुहुने नेपालका ७ प्रदेशमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी ,स्वास्थ्य संस्था ,पत्रकार सहित अमेरिका र युरोपमा कार्यरत चिकित्सकसहित २४ जनालाई सम्मानित गरिएको थियो ।

स्वास्थ्य दर्पण मीडियाले हरेक बर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु हुने, चिकित्सक, प्राध्यापक, स्वास्थ्यकर्मी, तथा पत्रकारलाई सम्मानित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार