लक्ष्मी सनराइज बैंक गल्याङ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

२०८१ चैत्र १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 

स्याङ्जा ,१० चैत । ग्लोबल मनी वीक २०२५ (Global Money Week 2025) विश्वव्यापी रूपमा वित्तीय साक्षरताका लागि समर्पित यो अभियान मार्च १७ देखि २३, २०२५ सम्म मनाइँदैछ । यहि अवसरमा लक्ष्मी सनराइज बैंक गल्याङ शाखाले वित्तीय साक्षरता सम्बन्धी एक दिने विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्थाहरूको सेवा, डिजिटल बैंकिङ प्रणालीको महत्व, केवाइसी (KYC ) अपडेट, डिजिटल ठगीका जोखिम तथा त्यसबाट कसरी बच्ने भन्ने विषयमा सहभागीहरूलाई विस्तृत जानकारी प्रदान गर्नु थियो ।

उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धक सुर्य पौडेलले बैंकिङ सेवा तथा प्रणालीहरूलाई सुरक्षित र प्रभावकारी रूपमा कसरी प्रयोग गर्ने भन्ने विषयमा विस्तृत प्रशिक्षण दिनुभएको थियो । बैंकिङ तथा वित्तीय साक्षरता अहिलेको डिजिटल युगमा अत्यावश्यक विषय भएकोले लक्ष्मी सनराइज बैंकले यसलाई प्राथमिकतामा राख्दै आएको छ । कार्यक्रममा प्रबन्धक पौडेलले बैंकिङ प्रणालीलाई सही तरिकाले उपयोग गर्न सकेमा व्यक्तिको वित्तीय सुरक्षामा महत्वपूर्ण सुधार आउने बताउनुभयो । त्यस्तै डिजिटल बैंकिङ प्रणाली तथा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता प्रविधिहरूको प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षा उपायहरूको बारेमा समेत जानकारी दिनुभएको थियो ।

हाल डिजिटल बैंकिङ सेवाको दायरा बढ्दै जाँदा डिजिटल ठगीका घटनाहरू पनि वृद्धि हुँदै गएकाले उक्त कार्यक्रममा यसबाट बच्ने उपायहरूबारे पनि प्रशिक्षण दिइएको थियो । अनलाइन ठगी, कुनै पनि अज्ञात लिंक वा म्यासेज खोल्न नहुने, गोप्य कोड तथा पासवर्ड सुरक्षित राख्नुपर्ने, बैंकको आधिकारिक वेबसाइट वा मोबाइल एप मात्र प्रयोग गर्नुपर्ने जस्ता महत्वपूर्ण बारेमा प्रशिक्षण दिनुभएको थियो ।

नेपाल मगर महिला संघ गल्याङ नगर कमिटीको आयोजना र लक्ष्मी सनराइज बैंकको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा गल्याङका करिब ७० जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी महिलाहरूले प्रशिक्षण निकै उपयोगी रहेको प्रतिक्रिया दिनुभएकाे थियाे  । उहाँहरूले विशेष गरी डिजिटल बैंकिङ तथा ठगीबाट बच्ने उपायबारे विस्तृत जानकारी पाएपछि आफूहरू सचेत हुन पाएको अनुभूति व्यक्त गर्नुभएकाे थियाे ।

लक्ष्मी सनराइज बैंकले वित्तीय साक्षरतासम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङप्रति अझ बढी सजग बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय