काठमाडौं ,१७ चैत । नेकपा एकीकृत समाजवादीले राजावादीको हिंसात्मक क्रियाकलापको भत्र्सना गर्दै देशव्यापी रुपमा भण्डाफोर गर्ने निर्णय गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा समाजवादीले शुक्रबार राजावादीले हत्या, हिंसा, नीजि तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफेड र लुटपाटका उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकपाल गरेको भन्दै उक्त क्रियाकपालको घोर निन्दा र भत्र्सना गर्दै देशव्यापी भण्डाफोर गर्ने जनाएको हो । पार्टी कार्यालय तथा अन्य स्थानमा भएको हिंसात्मक क्रियाकलापबिरुद्ध चैत्र २५ गतेभित्र सवै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनले सम्बन्धीत तहमा विरोध प्रदर्शन गर्ने समाजवादीका केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाले तथाकथित राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरुलाई तत्काल कडा भन्दा कडा कानूनी कारवाही गर्न माग गरिएको बताउनुभयो । त्यस्तै उचित समयमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएकाले सरकारको कमजोरी र गैरजिम्मेवार व्यवहारको विरोध गर्ने निर्णय भएको ज्वालाले उल्लेख गर्नुभयो ।
ज्वालाले आफ्ना पार्टी प्रतिगामी षडयन्त्र, दरवारिया अराजकता र पश्चगमनका बिरुद्ध आन्दोलनमा होमिएकै कारण प्रतिक्रियावादीहरुले निशाना बनाएको धारणा राख्नुभयो । नेकपा समाजवादीले राजावादी प्रदर्शनमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन समेत सरकारसंग माग गरेको छ ।