हाम्रो समाजले सम्बन्ध मापनका लागि दुईवटा फरक तराजु राखेको देखिन्छ।
जब ज्वाइँले छोरीलाई खुशी राख्छ, उसले परिवारलाई सम्मान दिन्छ, उसले आर्थिक,सामाजिक जिम्मेवारी वहन गर्छ। तब घरभित्र प्रसन्नता छाउँछ। सबैतिर भनिन्छ, “हाम्रो ज्वाइँ त असल हुनुहुन्छ, हाम्री छोरी सुखी छ।” यसमा कुनै संकोच छैन, गर्वले हृदय भरिन्छ।
तर यही समाजमा, जब छोराले आफ्नी पत्नीलाई आदर गर्छ, मायाले हेर्छ, जीवनका निर्णयहरूमा उनको राय लिन्छ, जब उसले आफ्नो घर–परिवारभन्दा अगाडि श्रीमतीको सम्मान र खुशीलाई प्राथमिकता दिन थाल्छ, तब छोरामाथि एउटा गम्भीर आरोप लाग्छ “श्रीमतीको टाङमुनी छिर्यो,” भन्दै आमाबाबुले घृणाका शब्द बोलेको सुन्न पाइन्छ। जब ज्वाइँले छोरीको सुखका लागि घर, जागिर, गाडी केही गरे गर्व । त्यहिँ छोराले बुहारीलाई सहज जीवन दिन खोज्यो आरोप । जब ज्वाइँले छोरीलाई शहरमा राख्यो “उहाँ त असल ज्वाइँ।” त्यहिँ छोराले बुहारीलाई शहरमा लग्यो “स्वास्नीको पछि लागेर बाबुआमालाई बिर्सियो।” किन यस्तो दोहोरो मापदण्ड?
यो विडम्बना हाम्रो सामाजिक संरचनामा गहिरो गडेको छ, पुरुषले आफ्नी श्रीमतीलाई माया गर्दा ऊ ‘कमजोर’ देखिन्छ, परिवारको ‘गर्व’ हैन, ‘लाज’ बन्न पुग्छ। जबकि वास्तविकता उल्टो हो, पत्नीलाई सम्मान गर्नु, उसको भावना बुझ्नु, उसको आत्मसम्मानको रक्षा गर्नु नै एक असल पतिको चिनारी हो । श्रीमतीसँग सल्लाह गरेर निर्णय गर्नु हाम्रो संस्कार र समझदारीको चिन्ह हो।
यस्तो सम्बन्धमा विश्वास बराबरी बस्छ। तर हाम्रो समाजमा अझै यस्तो सोच गडेको छ कि “पुरुषले सबै निर्णय आफैं गर्नुपर्छ”, “श्रीमतीको सल्लाह लिनु कमजोरी हो।” त्यही कारण, छोरा यदि श्रीमतीसँग मिलेर निर्णय गर्छ भने उसमाथि “स्वास्नीका कुरा सुन्यो” भन्ने आरोप लाग्छ।
छोरीको खुशी ज्वाइँले दिलाउँदा त्यो उसको कर्तव्य मानिन्छ, तर बुहारीको खुशी दिलाउने छोरालाई कमजोरीको प्रतीक किन बनाइन्छ ? “बुहारी हैन छोरी जस्तै हुन” भन्ने भनाइ धेरै जसो समाजमा केवल बोलीमा मात्रै सीमित छ । व्यवहारमा भने, यो भनाइ प्रायः पूर्ण रूपमा पालन गरिंदैन । महिलालाई घरको सदस्यको रूपमा सम्मान दिने कुरा भनेको उनको अधिकार र भूमिका मानेर हो, तर व्यावहारिक रूपमा यसलाई सही तरिकाले लागू गर्न कठिनाइ आउँछ।
समाजमा खासगरी नातागोता, साइनो र पारिवारिक सम्बन्धहरूमा कसैले कसैप्रति व्यक्त गरेको टिप्पणीले धेरै कुरा झल्काउँछ। यस्तै ग्रामिण समाजमा धेरैजसो सुन्न पाइने एउटा वाक्य हो — “ज्वाइँ त असल हुनुहुन्छ, छोरो जोइटिङ्रे छ।” यो वाक्यले पारिवारिक अपेक्षा, सामाजिक यथार्थलाई गहिरोसँग उजागर गर्छ। के सम्मान र मायाको मापदण्ड सधैं व्यक्तिको भूमिकामा निर्भर हुनुपर्छ? छोरीलाई सुख दिनु असलता हो भने, बुहारीलाई सुख दिनु कमजोरी कसरी भयो? के बुहारी पनि अर्की कसैकी प्यारो छोरी होइनन्? के उनीहरू माया, सम्मान र सुखका अधिकारी होइनन्?
समाजले छोरीका लागि जुन न्याय खोज्छ, त्यही न्याय बुहारीलाई दिन किन डराउँछ? जसरी हामी चाहन्छौं कि हाम्रो छोरीलाई घरमा देवी झैं राखून्, किन हामी आफैं आफ्नो घरमा बुहारीलाई त्यही देवीको सम्मान दिन सक्दैनौं? यदि मायालाई नाताले बाँधिन्छ भने, त्यो माया न त पवित्र रहन्छ, न त निष्पक्ष। यदि छोरो बुहारीलाई साथ दिन्छ भने त्यो उसको कमजोरी होइन, त्यो त उसको मानवता हो। साँचो मायामा सेवा हुन्छ, सँगै अघि बढ्ने भावना हुन्छ, त्यहाँ न जोइटिङ्रेपन हुन्छ, न कमजोरी।
समाजले अब सोच बदल्नुपर्छ। छोरी र बुहारी दुवैलाई समान आँखाले हेर्न सक्नुपर्छ। जसरी हामी आफ्नी छोरीलाई सधैं सुखी देख्न चाहन्छौं, त्यस्तै गरी हामीले आफ्नी बुहारीलाई पनि सम्मान र माया दिन जान्नुपर्छ। छोरीलाई सुख दिने ज्वाइँ असल हुन्छ, ठीक त्यसैगरी बुहारीलाई सुख दिने छोरो पनि असल हुन्छ, स्वाभिमानी र साँचो पुरुष हुन्छ।
समाजको यस्तो दृष्टिकोणले न त परिवारमा वास्तविक सद्भाव ल्याउन सक्छ, न त भावी पुस्तालाई समानताको शिक्षा दिन सक्छ। यदि हामी सच्चिन चाहन्छौं भने, आदर र प्रेमलाई कुनै नाताले सीमित नगरी, समान दृष्टिले हेर्न सिक्नुपर्छ। छोरी र बुहारी दुबैलाई एकै किसिमको सम्मान र स्वीकृति दिन सक्नुपर्छ।
खेम गैह्रे
गल्याङ नगरपालिका १ मालुङा