क्रान्ति अर्याल
स्याङ्जा, १ जेठ । गल्याङ नगरपालिकाले प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तार गर्ने क्रमलाई अगाडि बढाउँदै एकदिने छाती रोग सम्बन्धी निःशुल्क एक्स–रे शिविर सम्पन्न गरेको छ । यसपटकको शिविरमा आधुनिक एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिबाट सुसज्जित पोर्टेबल एक्स–रे मेसिनको प्रयोग गरिएको थियो ।
गल्याङ नगरपालिका–०३, बल्पुक स्थित नगर अस्पतालमा आयोजित शिविरमा ३३६ जनाले निःशुल्क छातीको एक्स–रे सेवा लिएका छन् । उक्त परीक्षणमा सहभागी मध्ये १२ जनामा क्षयरोग (टीबी) को पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद वलीले जानकारी दिनुभयो । क्षयरोग पुष्टि भएका बिरामीहरुलाई नगरपालिकाले निःशुल्क औषधोपचार सुरु गरिसकेको छ । त्यस्तै क्षयरोगको सम्भावना देखिएका २२ जनाको खकार नमुना परीक्षणको लागि संकलन गरिएको छ ।
गल्याङ नगरपालिकाले यस अघि पनि एकीकृत घुम्ती स्वास्थ्य शिविर, नसर्ने रोग सम्बन्धी शिविर र आँखा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस पटकको शिविरलाई पनि त्यसैको निरन्तरता मानिएको छ । जसले छाती रोग पहिचानमा प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाएको छ ।
नगरपालिकाले आगामी दिनहरूमा यस्ता जनस्वास्थ्य अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ । त्यस्तै नगरप्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईं, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।