काठमाडौँ ,७ जेठ। शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्याउन आफु गम्भीर रहेको बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथि छलफलका क्रममा मन्त्री पन्तले निरन्तर छलफल गरि विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुराउन आफु गम्भीर रहेको बताउनुभएको हो । विधेयकमा रहेका कतिपय बिषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उहाले बताउनुभयो । मन्त्री पन्तले विधेयकमा सहमति भएका बिषयलाई अघि बढाउने र सहमति हुन नसकेका बिषयमा अन्तिममा टुङ्गोमा पुराउने गरि छलफल अघि बढाउन सुझाव दिनुभयो ।
समिति सभापति अम्वर बहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुङ्गोमा पुराउनुपर्नेमा जोड दिनुभयो । उहाले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरि चरणबद्ध रुपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गर्नुभयो ।
यसअघि उपसमितिले बिभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन समिति समक्ष पेश गरिसकेको छ ।