काठमाडौ,१० जेठ। नेपाली काङ्ग्रेसका नेता तथा स्याङ्जाका पुर्व सभापति एवं पुर्व स्वर्गीय सांसद खगेन्द्र रेग्मीको प्रथम स्मृतिसभा शनिवार काठमाडौको गोधुली फुडल्याण्डमा सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितीका सभापति देवि प्रसाद अर्यालको सभापतित्व र नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले स्वर्गीय खगेन्द्र रेग्मीबाट राजनीतिमा धेरै सिक्न सकिने बताउनुभयो । अहिलेको स्वार्थ राजनीति र उबेलाको त्यागेको राजनीतिको उदाहरण दिदै साच्चिकै त्यागी नेताको रुपमा रेग्मीलाई लिन सकिने धारणा राख्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले राजनीति त्याग र निरन्तर यात्रा भएको बताउनु भयो । उहाँले भन्नुभयो , “राजनीति निरन्तर यात्रा हो । अविरल यात्रा हो । राजनीतिमा के पाए भन्दा पनि लक्ष्यमा अटल भएर लाग्नु नै राजनीति हो ।” राजनीतिमा त्यागको मुल्य नहुने भन्दै स्वर्गीय रेग्मि बाट राजनीति धेरै सिक्नुपर्ने उल्लेख गर्नुभयो ।
शिक्षण पेसा संगै राजनीति गर्नुभएका रेग्मी आफ्नो पनि गुरु भएको बताउदै उहाँले जन्म दिने बुबा आमा, जिबन दिने घर्ती र ज्ञान दिने गुरु सधै भगवान सरह हुने समेत उल्लेख गर्नुभयो ।
नेपाली काङ्ग्रेस नेता कृष्ण सिटौलाले जिबनको अन्तिम क्षण हस्पिटलमा पुगेर भेट्दा पनि रेग्मीले संगठनकै चिन्ता लिएको अनुभव सुनाउनु भयो । उहाँले भन्नुभयो , “उहाँ अन्तिम अवस्थामा सिभिल हस्पिटलमा हुनुहुन्थ्यो आँखा बन्द गरेपनि उहाँले मलाई चिन्नुभयो र पार्टीको हाल खबर सोध्नु भयो ।”
नेपाली काङ्ग्रेसका गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले आर्थिक रुपमा समृद्धि नभएसम्म युवालाई देशमै राख्न नसकिने बताउनुभयो । केन्द्रिय सदस्य नानू बास्तोलाले खगेन्द्र राज रेग्मीको योगदान केवल स्याङ्जा मात्रै नभएर समग्र पार्टीको लागि अतुलनीय रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापाले स्याङ्जाको संगठन निर्माणमा उहाँको अहम् भुमिका रहेको बताउनु भयो ।
साइला भाइ भुपेन्द्र रेग्मीले दाजुले संगठन गर्दा पाएका दुख व्यथा राख्नुभयो । मुक्तिनाथ विकास बैंकका सस्थापक अध्यक्ष समेत रहनु भएका रेग्मीको बारेमा बैंकका तत्कालीन सिइओ भरत ढकालले उहाँसंगको अनुभव सुनाउनु भएको छ ।
महाधिवेशन प्रतिनिधि यादव श्रेष्ठको स्वागत संगै सुरु भएको कार्यक्रमको संचालन तारानाथ अर्यालले गर्नुभएको थियो ।
द्वन्द्वको समयमा माओवादीले घरमै गएर गोलि हानेर मृत्यु घोषणा गरेका रेग्मी पछी उपचार जिवित हुनुभएको थियो । त्यहीँ गोलि लागेको ठाँउबाट क्यान्सर उत्पन्न भएपछि उहाँको मृत्यु भएको थियो । राजनैतिक क्षेत्रमा मात्रै नभएर शैक्षिक,आर्थिक क्षेत्रमा पनि उत्तिकै अब्बल रेग्मी मुक्तिनाथ विकास बैंकका सस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँ राष्ट्रियसभा सदस्य समेत हुनुभएको थियो ।