काठमाडौ,१० जेठ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिनुभएको छ ।
शनिबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका बिषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । उहाँले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजिनामा दिदा उहाँकै नैतिकता सघाउ पुग्ने बताउनुभयो ।
नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा राख्नुभयो । उहाले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरुले जनमत संग्रहबाट डराउन नहुने जिकिर गर्नुभयो । उहाँले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने बताउनुभयो ।
त्यस्तै नेता कोइरालाले ०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको र कार्यकर्ताहरुलाई महाधिवेशनका लागि दबाब दिन आग्रह समेत गर्नुभयो ।