काठमाडाै, १७ असार । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न प्रदेशहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले विविध कार्यक्रमहरू सम्पन्न गरेको छ ।
बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लाको पूर्वचौकी गाउँपालिका–५ स्थित श्री नव प्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्रछात्रालाई विद्यालय पोशाक वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मनोबल उच्च बनाउने र अध्ययनप्रति उत्साह थप्ने उद्देश्यले गरिएको यो सहयोगप्रति विद्यालयले आभार व्यक्त गरेको छ ।
स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने हेतुले बैंकले कर्णाली प्रदेशको बिरेन्द्रनगर–४, सुर्खेतस्थित प्रदेश अस्पतालमा १० थान ह्वीलचेयर प्रदान गरेको छ । यो सहयोगबाट अस्पतालमा उपचारका लागि आउने जेष्ठ नागरिक तथा असक्त बिरामीलाई हिँडडुलमा सहजता पुग्ने बैंकको विश्वास छ ।
त्यस्तै, कोशी प्रदेश अन्तर्गत धनकुटा जिल्लास्थित जिल्ला अस्पतालमा समेत बैंकले बिरामी तथा कुरुवाका लागि ७ थान तीन सिटर कुर्सी हस्तान्तरण गरेको छ । अस्पतालको प्रतिक्षालयमा सेवा लिनेहरूको बसाइ सहज बनाउने उद्देश्यले यो सहयोग गरिएको हो ।
मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायतका क्षेत्रमा निरन्तर सामाजिक योगदान दिँदै आएको छ । आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रुपमा विस्तार गर्दै लैजाने बैंकले प्रतिबद्धता जनाएको छ ।