केपी ओलीको प्रस्तावमा नै विद्या भण्डारी एमालेको अध्यक्ष बन्नुहुन्छः कर्ण थापा

२०८२ असार २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं, २२ असार । नेकपा (एमाले) का नेता कर्ण थापाले पार्टीको विधानबाट दुई कार्यकाल र ७० वर्षे उमेर हद नहटेको बताउनुभएकाे छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विधान महाधिवेशनले पास गरेको कुरामा राष्ट्रिय महाधिवेशनपछि जालझेल गरेर विधान छापिएको दाबी गर्नुभएकाे हाे । उहाँले अहिले एमालेमा दुई वटा विधान देखाएर आफू अनुकूल चर्चा गर्ने काम भइरहेको बताउनुभयाे । उहाँले जसले जे–जे प्रचार गरे पनि एमालेको विधानबाट दुई कार्यकाल र ७० वर्षे उमेर हद नहटेको बताउनुभयाे ।

‘केही–केही हाम्रा नेताहरुले सामाजिक सञ्जालमा, आफ्नो पद जहाँ छ, त्यसको दुरुपयोग गरेर पार्टी पंक्तिमा हामीले राष्ट्रिय महाधिवेशनबाट पारित गरेका थियौं भन्नुहुन्छ कहिले । कसैले विधान महाधिवेशनमै परिवर्तन भएको भन्नुभएको छ । त्यो कही पनि छलफल, बहस भएको छैन । प्रथम विधान महाधिवेशनले जे र्फैसला गर्यो । ७० वर्षे उमेर हदवाला पनि विधान परिवर्तन भएको छैन,’– उहाँले भन्नुभयाे ।

२०७९ असोजमा महाधिवेशन भएको र कागर्यौं । कात्तिकको ५ गते छापिएको विधान नै आधिकारिक रहेको उहाँले बताउनुभयाे । ‘त्यो विधान जे छापियो, त्यो सक्कली विधान छापियो । जे पारित भयो त्यही छापिएको छ । त्यसपछि पुसको ५ गते दुईवटा विधान छापिएका छन् । बाहिरको बोक्रो चाहिँ विधान महाधिवेशनबाट पारित गरिएको भन्ने नै छ,’ उहाँले भन्नुभयाे, ‘अर्को विधान के छापियो भन्दा विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनबाट पारित भनेर छापिएको छ । विधान महाधिवेशनबाट पारित भएको दुई कार्यकाल र ७० वर्षे उमेर हदवाला जस्ताको तस्तै छापिएको विधान पनि हामीसँग छ । त्यसमा छलफल केही पनि नगरी छाप्ने बेलामा अर्कै छापिएको विधान पनि छ हामीसँग । यस प्रकारको जालझेलपूर्ण काम चाहिँ जसले गर्नुभयो, त्यो नगर्दिए हुन्थ्यो ।’

साथै, उहाँले एमालेको सक्रिय राजनीतिमा विद्या भण्डारी फर्किनुमा प्रश्न उठाउनुपर्ने कुनै कारण नरहेको उहाँले बताउनुभयाे । भण्डारीले राष्ट्रपतिको रुपमा आफ्नो अभिभारा सफलतापूर्वक पूरा गरेको र अझै देश र जनताको लागि केही गर्न बाँकी छ भनेर राजनीतिमा फर्किएको उहाँले बताउनुभयाे । ‘राष्ट्रपति भएको बेलामा उहाँ पार्टीको राजनीतिमा आउछु भनेको भए प्रश्न उठ्नु स्वभाविक थियो । अब पदीय दायित्व पूरा गर्नुपर्ने बेलामा गर्नुभयो । त्यसपछि पनि यो देशका निम्ति मैले केही गर्न बाँकी छ, म गर्न सक्छु । मेरो उमेर, ऊर्जा र अनुभव छ, मेरो अनुभव मेरो व्यक्तित्व जे बनेको छ, त्यसमा नेकपा (एमाले) को धेरै योगदान छ । नेपाली जनताको योगदान छ,’– उहाँले भन्नुभयाे ।

साथै, भण्डारीले जनतप्रतिको दायित्व अनुभूति गरेर नै राजनीतिमा फर्किएको उहाँले बताउनुभयाे । नेपाली कम्युनिष्ट आन्दोलन र राष्ट्रिय, अन्तरराष्ट्रिय क्षेत्रले पनि निष्कलङ्क मान्छेको अपेक्षा गरिराखेको बेलामा भण्डारीले पुनः राजनीतिमा इन्ट्री गरेको उहाँले बताउनुभयाे । एमालेभित्र भण्डारीले भन्दा त्याग र योगदान गरेको अरु थुप्रै नेताहरु भए पनि अहिलेको परिस्थितिमा सबैभन्दा बढी स्वीकार्य भने उनी नै रहेको नेता थापाले बताउनुभयाे । भण्डारी एमालेको राजनीतिमा फर्किएपछि पार्टीभित्र उत्साह र जाँगरको स्थिति पैदा भएको पनि उहाँले बताउनुभयाे ।

‘निष्कलङ्क खालको व्यक्तित्व पनि खोजी गरिराखेका छन् मान्छेले । सहज र साझा व्यक्तित्व पनि खोजिरहेका छन् । विद्या भण्डारीभन्दा योगदानको हिसाबले, योग्यताको हिसाबले कयौं नेताहरु हुनुहुन्छ । तर, अहिले उहाँको व्यक्तित्वलाई सहज ढंगले ग्रहण गर्ने, त्यो ग्रहणीय व्यक्तित्वको हिसाबले भन्ने हो भने अरु कोही भन्दा विद्या भण्डारी बढी स्वीकार्य व्यक्ति हुनुहुन्छ । देशभित्र पनि, नागरिकका बीचमा पनि, विभिन्न हाम्रा छिमेकीहरु, हाम्रा मित्रहरुका बीचमा पनि हुनुहुन्छ । उहाँ आउँदाखेरी उत्साहको स्थिति पनि आएको छ । जाँगर पनि पैदा भएको छ,’– उहाँले भन्नुभयाे ।

त्यस्तै, नेपालको कम्युष्टि आन्दोलनले साझा व्यक्तित्व खोजिरहेको अवस्थामा भण्डारी राजनीतिमा फर्किएको पनि उहाँले बताउनुभयाे । कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने अभिभारा भण्डारीले पूरा गर्न सक्ने धारणा उहाँले व्यक्त गर्नुभयाे । ‘वामपन्थीहरुको बीचमा विवादको स्थिति छ । नेपालको कम्युनिष्ट आन्दोलनमा लाग्ने प्रमुख नेताहरुको बाँकी रहेको अभिभारा के छ भने वामपन्थीहरुको एकता पनि गर्नुपर्छ । त्यसका निम्ति स्वीकार्य नेता चाहियो भन्ने स्थिति छ । सबैले को त भन्दाखेरी सहज र स्वीकार्य विद्या भण्डारी छ भन्ने भइसकेपछि उहाँ अगाडि बढ्नुभयो,’– नेता थापाले भन्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय