पैसा बाँडेको आरोपमा काठमाडौं ५ मा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ

२०७९ मंसिर ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, ३ मङ्सिर । काठमाडौको बूढानीलकण्ठमा एमालेका उम्मेदवारसहित तीन व्यक्ति पैसा बाँड्न लागेको आरोपमा पक्राउ परेको घटनाको जिल्ला निर्वाचन अनुगमन समितिले छानबिन गर्ने भएको छ । प्रहरीले अनुगमन समितिलाई छानबिनका लागि बोलाएको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ (२)का प्रदेश सभा सदस्यका एमाले उम्मेदवार दीपक निरौलासहित तीनजनालाई प्रहरीले शुक्रबार बेलुका बूढानीलकण्ठ– ६ बाट नियन्त्रणमा लिएको हो ।

सो वडाका अध्यक्ष रवि खड्का र एमाले बूढानीलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँहरूलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ ।

पैसा बाँडेको विषयमा स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । त्यस विषयमा आचारसंहिता अनुगमन समितिका सदस्यहरूलाई बोलाइएको एक प्रहरी अधिकारीले बताउनुुभयो ।

एमाले नेताहरू पक्राउ परेपछि अन्य दलका कार्यकर्ताहरुले उहाँहरूलाई कारबाहीको माग गर्दै नाराबाजी गरेका छन् भने पक्राउ परेका नेता निरौलाले भने आफू पैसा बाँड्न नभई एक बिरामीलाई भेट्न त्यहाँ गएको बताउनुुभएको छ । काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय