पाइलट काण्डले तात्यो स्याङ्जा अहिलेसम्म ६ जना पक्राउ

२०७९ माघ १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१० माघ । प्रभु हेलिकोप्टरका पाइलटमाथि कुटपिट गर्ने ६ जना पक्राउ परेका छन्। स्याङ्जा प्रहरीले पाइलट रानेश डंगोलमाथि कुटपिट गर्नेहरूलाई सोमबार बेलुका पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वालिङ नगरपालिका ९ का यमबहादुर गुरुङ र सोही नगरपालिका(८ का सुरेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। प्रहरीले हेलिकोप्टर चार्टर्ड गर्ने चार जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका ९ का विनोद गैरे, सुशील गिरी, उज्वल थापा र खिमबहादुर राना रहेका छन्।

उहाँहरूलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजिवबहादुर बस्नेतले पाइलटमाथि कुटपिट गर्नेहरूलाई पक्राउ गरेको बताउनुुभयो। पक्राउ परेकाहरूबारे हामीले अनुसन्धान गरिरहेका छौं ।

गत बिहीबार उनीहरूले पोखराबाट प्रभुको हेलिकोप्टर चार्टर्ड गरी वालिङ लगेका थिए। वालिङ फुटबल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेकै अवस्थामा हेलिकोप्टर अवतरण गराएपछि पाइलटमाथि कुटपिट भएको थियो।

पक्राउ परेका उहाँहरूलाई प्रहरीले मंगलबार जिल्ला अदालतमा पेस गरेको छ। अदालतले पक्राउ परेकाहरूको अनुसन्धान गर्नका लागि प्रहरीलाई दस दिनको समय दिएको छ।

घटनापछि पाइलट डंगोलले जिल्ला प्रहरी कार्यालय वालिङमा जाहेरी दर्ता गराउनुुभएको थियो। उहाँले विगत ८ वर्षदेखि प्रभु हेलिकोप्टर कम्पनीमा अपरेशन डिरेक्टर, चिफ पाइलट र लाइन पाइलटको रूपमा पोखरामा कार्यरत रहेको र गत ५ माघमा स्याङ्जाको वालिङ बजारमा फ्लाइट लिएर जानुपर्ने सूचना र अनुमति पाएको जाहेरीमा उल्लेख गरेका छन्।

फ्लाइटमा सवार विनोद गैरै, उज्वल थापा, सुशील गिरी र खिम बहादुर रानाले आफूहरू आयोजकमध्येकै भएको भन्दै जबर्जस्ती खेल मैदानमा अवतरण गराएको उहाँले जाहेरीमा उल्लेख र्गनुभएको छ।

वालिङ पुगिसकेपछि मैले हेलिकोप्टर ल्याण्ड गर्नुपूर्व खेल मैदानमा ल्याण्ड नगरी मैदान बाहिर नै ल्याण्ड गर्छु भनेकोमा जबर्जस्ती हेलिकोप्टरमा सवार उहाँहरूले आयोजकलाई जानकारी गराइसकेको भन्दै मलाई निर्दिष्ट गरेकै स्थानमा हेलिकोप्टर ल्याण्ड गर्न विवश बनाए, जाहेरीमा पाइलट डंगेलले भन्नुभयाे ।

हेलिकोप्टर ल्याण्ड गर्नासाथ केही व्यक्तिहरूले नियन्त्रणमा लिएर अत्यन्त अभद्र र अमर्यादित व्यवहार गरेको, लछारपछार गरी शरीरको संवेदनशिल अंगमा अन्धाधुन्द लात्ती र मुक्का हानेको, टाउको, नाक, मुख, आँखा र छातीमा निर्घातरूपमा कुटपिट गरेको पाइलट डंगोलले जाहेरीमा भन्नुभयाे ।

मलाई बोल्ने मौकासमेत नदिई अभद्र तवरले सांघातिकरूपमा ममाथि एकतर्फी हमला गरेकाले म निरीह, घायल र मरणासन्न भएँ,उहाँले जाहेरीमा भन्नुभयाे छ, निर्घात कुटपिटको कारण मेरो आँखा र नाकबाट रगत बगिरहेकै अवस्थामा केही व्यक्तिहरूले तत्काल फ्लाइट लिएर फर्किहाल्नुस् अन्यथा जे पनि हुनसक्छ भन्दै धम्क्याए।

उहाँले आफू घाइते अवस्थामा हेलिकोप्टर उडाउन सक्दिनँ भन्दासमेत उनीहरूले पोखरा फ्लाइट गर्न विवश बनाएको जाहेरीमा भन्नुुभएको छ। उहाँले नेपाल नागरिक उड्ययन ऐन, २०७१ को परिमार्जित ऐन नेपाल नागरिक उड्ययन ऐन २०७३ दफा ८० /१० अनुसार हवाई उडान सुरक्षाविरुद्धको कसूर र मुलुकी अपराध संहिता २०७४ को दफा ११८ (१) बमोजिम अभद्र व्यवहारको कसूरमा हदैसम्मको कारबाही माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय