युएईमा अस्ताए सबैका प्रिय प्रेम

२०७८ आश्विन २८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा २७ असोज । युएईमा रहेका नेपालीकाहरुका सुख दुखका सारथि,नाम जस्तै कामले परिचित प्रेमराज भण्डारीको गत शुक्रवार दुबईको अस्टर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ ।

करिब बीस बर्ष देखी रोजगारीको गन्तव्य युएई लाई बनाउदै आउनु भएका भण्डारीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । श्रोतका अनुसार पेट दुखेको भन्दै असोज २० गते अर्थात अक्टोबर ६ तारिख दुबईको वर दुबईमा रहेको अस्टर हस्पिटल भर्ना हुनुभएको थियो । भर्ना भए लगत्तै पेटको एउटा आन्द्रामा प्वाल परेको एउटा आन्द्रा बिग्रीएको भन्दै आन्द्राको अप्रेसन गरिएको थियो । अप्रेसन गर्न बिहोस बनाइएका भण्डारी पुन होसमा आउन नसकेपछि अवस्था गम्भीर भएको भन्दै बिहिवार युएईमा रहेका भण्डारीका नजिकका मान्छेलाई अस्पतालले खबर गरेको थियो । अवस्था नाजुक भएको भन्दै फोन आए लगत्तै अस्पताल पुगेका आफन्तलाई अस्पतालले भण्डारी बचाउ निकै कठिन हुने बताएको थियो । आईसियुमा राखेर उपचार भैइरहेको जनाएपनी अस्पतालले शुक्रवार उहाँलाई मृत घोषणा गरेको थियो । यता अस्पतालको फोन आए लगत्तै अस्पताल पुगेकाहरुले भने अस्पतालले सफल अप्रेसन गर्न नसकेको र अप्रेसन गर्दा केही त्रुटि भएको र उहाँ मृत्यु घोषणा शुक्रबार गरिएपनी बिहिवारनै मृत्यु हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

मृत्यु भए लगत्तै युएईमा क्रियासिल विभिन्न सामाजिक सस्थाहरुको सहयोगमा भण्डारीको लास नेपाल ल्याइएको थियो । स्याङ्जा सहयोग समाज युएई, नेपाली समाज,युएई नेपाली एकता समाज, युएईको पहलमा भण्डारीको लासलाई नेपाल ल्याएको थियो भने असोज २८ गते बिहिवार राम्दीमा उहाँको दाहसंस्कार गरिएको थियो ।

गल्याङ नगरपालिका ७ धराङ्दी घर भएका भण्डारी वैदेशिक रोजगारीको क्रममा युएई गएदेखि नै सामाजिक सेवामा सक्रिय हुनुहुन्थ्यो । स्याङ्जा सहयोग समाज, युएईका निवर्तमान अध्यक्ष, गल्याङ नगर समाज, युएईका संरक्षक र नेपाली एकता समाज,युएईका निवर्तमान महासचिव समेत रहनु भएका भण्डारी युएईका हरेक नेपालीका सुख दुखका सारथि बन्दै आउनु भएको थियो । बुबा पेउ नारायण भण्डारी र आमा श्यामकला भण्डारीको कोखबाट जन्मिनु भएका प्रेमराज भण्डारका घरमा हाल श्रीमती बिष्णु कुमारी भण्डारी र दुई छोरीहरु बिनिता,लक्ष्मी भण्डारी हुनुहुन्छ भने दुई छोराहरु बिबेक र बिराज भण्डारी हुनुहुन्छ ।

सामाजिक क्षेत्रमा सकृय भण्डारीको मृत्यु प्रति स्याङ्जा सहयोगमा युएईका अध्यक्ष गोबिन्द भट्टराई, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष जिबन न्यौपाने लगायतले दुख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय