धादिङमा पैदलमार्ग समेत पहिरोले लगेपछि बिरामी अस्पताल लैजान समेत कठिन

२०८० भाद्र १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

साबित्री अधिकारी

धादिङ, १५ भदौ । उत्तरी धादिङको तिप्लिङसम्म सदरमुकाम धादिङबेसी जोड्ने सडक ठाउँठाउँमा पहिरो जाँदा मानिस डिड्ने बाटो समेत बन्द भएको छ। पहिरोले बाटो बन्दभएका कारण रुबिभ्याली र झार्लाङ गाउँपालिका संग यातायात सम्पर्क विच्छेद भएको छ ।

खनियाबास गाउँपालिका १ को पेर्चो र लिस्ने खोलाको बीचमा पर्ने जुगाडाँडा, पेर्चोमा पहिरो गएपछि यातायात मात्र होइन मानिस समेत हिड्न नसकिने गरि आवतजावत बन्द भएको रुबीभ्यालीका समिर गुरुङले बताउनुभएको छ । अहिले अवरुद्ध भएको स्थानमा करिब १२ वर्षअघि पनि पहिरो खसेको थियो । फेरि उही स्थानमा खसेको पहिरोले स्थानीयवासीको खेतसमेत पुरेको छ । आवतजावत बन्द हुँदा लापा, सेर्तुङ, तिप्लिङ लगायतका स्थानका मानिस सदरमुकाम आउन नसक्ने अवस्थामा पुगेका छन् ।

पहिलो पटकको पहिराले भासिएको जमिन पुनः पहिराे जाँदा बग्न थालेपछि छापचेत गाउँ पनि जोखिममा परेको छ । पहिरोले बिजुलीको पोलहरु लडेका छन् । आँखु खोला किनारबाट सुरु भएको पहिरो सडकबाट करिब ७० मिटर माथि पुगेको छ । त्यसभन्दा केही माथी रहेको छापचेतका ४५ घर जोखिममा परेको स्थानीय एलिया तामाङले बताउनुभयो ।

पानी नपरेको बेला रुवीभ्यालीतर्फ आउजाउ गर्नेहरु जोखिममा परेका छन् । भारी बोकेर हिँड्नेहरुले भने प्लेङयर्तोङ को बाटो हुँदै हिँड्नु पर्ने बाध्यता छ । खनियाबास गाउँपालिकाको धार्नामा पहिरो गएपछि मानिसको आवतजावत समेत बन्द भएको छ । नदी किनरबाट माथी गाउँसम्म पहिरो गएपछि कच्ची सडक बगेको छ । मानिस हिड्ने एकमात्र बाटो समेत बन्द भएको रुबीभ्यालीका स्वास्थ्य शाखा प्रमुख राज तामाङले बताउनुभयो ।

वर्षा लागेपछि पहिरो जानेर सडक बन्दह हुने हुँदा उत्तरका बासिन्दालाई स्वास्थ्यसेवा लिन समेत कठिन भएको छ । मानिससमेत हिड्न नसकिने ठाउँ भएकोले विरामी बोकेर लान नसकिनेअवस्था रहेको छ । साहुहरुले हेलिकप्टर चार्टर गरेर लान्छन् तर गरिबहरु घरमै बसेर मर्ने अवस्था आएपनि संघीय र प्रदेश र स्थानीय सरकारहरुले सडकको भरपर्दो काम बर्षौदेखि नगर्दा जनताले दुख पाएका हुन् ।

धादिङबेसी तिप्लिङ सडक २०४३ देखि बनाउन थालिएपनि हालसम्म पिच भएको छैन । अरबौ रुपैयाँ खर्च गरिएपनि हरेक वर्ष ठेकेदार कम्पनीले काम नसकेर म्याद थप्ने र काम अपुरोहुँदै वर्षले बगाउने गरेपछि सडक पुरा नभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय