अर्जुनचौपारी गाउँपालिकाद्वारा एक लाख तीस हजारको अखाद्य सामग्री नष्ट

२०८१ कार्तिक ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल
स्याङ्जा, ८ कात्तिक । अर्जुनचौपारी गाउँपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडको बेलामा हुन सक्ने अखाद्य वस्तुको मिश्रण तथा कालाबजारीलाई रोक्न पालिकाले अनुगमन सुरू गरेको हो । वडा नं ३,४,५ र ६ मा गरेको बजार अनुगमनमा थुप्रै अखाद्य तथा म्याद गुज्रेका वस्तु भेटिएको र त्यस्ता वस्तुलाई नष्ट गरिएको पालिकाले जनाएको छ ।

गत असोज ८, १५, १६ र २२ गतेको बजार अनुगनमा बरामद भएका एक लाख ३० हजार बराबरका सामग्री नष्ट गरेको हो ।

गाउँपालिकाले आग्रिखर्क, सल्यान, सिमलचौर, रापाकोट, घण्टे, दरौ लगायतका ठाउँमा बजार अनुगमन गरेको थियो ।

बजार अनुगमनमा म्यादन गुज्रेका मिठाई, सिद्रा, इमिली, खैनी, चाउमिन, पाउरोटी लगायतका सामग्री बरामद गरेको थियो भने गाउँपालिकाले बेच्न प्रतिबन्ध लगाएका रङग मिसाएका सामग्री समेतबरामद गरेको थियो ।

बरामद गरेका सामग्रीहरु गाउँपालिका, प्रहरी, उद्योग बाणिज्य सङघ, पत्रकार, स्थानीय नागरिकको रोहबरमा जलाएर नष्ट गरेको हो ।

३२ वटा व्यापारीको पसल अनुगमन गरेकोमा ६० प्रतिशत नीति नियमभन्दा बाहिर रहेको भेटिएको थियो भने दर्ता नै नभएका, दर्ता भए पनि सात बर्षबाट नवीकरण नभएका, पाँच बर्षसम्म म्याद गुज्रेका सामान राखेको भेटिएको हो ।

अनुगनमनमा दर्ता नगरी व्यापार गरेका व्यापारीबाट बरामद भएको ७१ हजार ५९४ रुपियाँको रक्सीसहित एक लाख बराबरको सामग्री प्रशासनसँग समन्वय गरेर लिलामी गरिने उपाध्यक्ष सपना गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय