काठमाडौँ, १३ मंसिर । ‘राजनीतिमा महिला हिंसा’ विषयक ‘म बोल्छु’ कार्यक्रममा महिला नेताहरूले महिलाको क्षमतालाई लिएर अझैं प्रश्न उठिरहने गरेको बताउनुभएकाे छ । मिडिया एडभोकेसी ग्रुपले बुधबार ललितपुरमा आयोजना गरेको ‘राजनीतिमा महिला हिंसा’ विषयक ‘म बोल्छु’ कार्यक्रममा कांग्रेस, एमाले र माओवादीका महिला नेताले आफ्नो अनुभव साझा गर्ने क्रममा महिलालाई दिइने जिम्मेवारीमा शंका गरिने बताउनुभएकाे हाे ।
पुर्व सभामुख एंव माओवादी नेता ओन्सारी घर्ती मगरले महिलालाई जिम्मेवारीबाट टाढा राखिने र दिइए पनि ‘सह’ मा सीमित हुने बताउनुभयाे । ‘महिलालाई सकेसम्म जिम्मा दिइदैन । दिइए पनि सहको जिम्मा दिइन्छ,’ उहाँले भन्नुभयाे, ‘मुख्य जिम्मा दिइदा पनि सक्छन् त? भनेर शंका गर्छन् ।’ आफैं सभामुख हुँदा पनि बहालवाला मन्त्रीहरूले संसद् कसरी संचालन गर्छ भनेर अविश्वास गरेको अनुभव समेत सुनाउनुभयाे।
संविधानसभा सदस्य एंव एमाले नेता विन्दा पाण्डेले राजनीतिमा महिलाको क्षमतालाई लिएर अझै प्रश्न गरिने गरेको बताउनुभयाे । ‘अहिले पनि महिलामाथि उठ्ने प्रश्न नै सक्छन् र भन्ने हो,’ पाण्डे भन्नुभयाे, ‘नेपालकाे राजनीतिलाई कसरी महिलाकरण गर्न सकिन्छ भन्ने चुनौती छ ।’
यस विषयलाई सबै राजनीतिक दलले साझा विषय बनाएर काम गर्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयाे । यसैगरी राजनीतिक दलभन्दा पनि साझा मुद्दा बनाएर गरेकाे काममा उपलब्धि हासिल गरेको उहाँले सुनाउनुभयाे ।
कांग्रेस नेता किरण यादवले महिलाको हकहितका लागि लडिरहने महिलाले समेत हिंसा भोगेको बताउनुभयाे । ‘राजनितीमा लागेका महिलाले विभिन्न खालको दुर्व्यवहार र हिंसा भोगिरहेका छन्,’ उहाँले भन्नुभयाे,उ ‘महिलाको हकहितका लागि लडिरहेका महिलाले पनि कही न कहीबाट पीडित भएका हुन्छौं ।’ महिलाको हकहितकाे लागि लडेर राजनीति गर्दै आजको अवस्थासम्म आईपुगे पनि चुनाैती रहेको उहाँले सुनाउनुभयाे।
‘महिलालाई काम गर्दै जाँदा राजनीतिक रूपमा चुनौती छ,’ उहाँले भन्नुभयाे, ‘क्षमता भएको महिलाहरूलाई दलले निर्वाचनमा प्रत्यक्षबाट जित्दैनन् भनी टिकट दिदैनन् ।’ टेवाकी संस्थापक अध्यक्ष रीता थापाले प्रणालीगत रूपमा देखिएको हिंसालाई चिर्न गाह्रो भएको उल्लेख गर्नुभयाे । उहाँ भन्नुभयाे, ‘त्यसैले समतामूलक, स्वाभिमानी र सशक्त विकासको आवश्यकता छ ।’