क्रान्ति अर्याल
स्याङ्जा ,२१ मंसिर । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा जिल्लास्तरीय शिक्षक विद्यार्थी वक्तृत्वकला प्रतियोगिता भएको छ । शिक्षक विद्यार्थी प्रतिभा पहिचान गर्ने उद्देश्यले शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा शिक्षक र विद्यार्थी दुवै तर्फ पुतलीबजार नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ । विद्यार्थीतर्फ श्री काजीमान हरीटिका माध्यमिक विद्यालय पुतलीबजार नगरपालिकाका छात्रा रितिका के.सी ले प्रथम स्थान हासिल गर्नुभएको छ । त्यस्तै श्री दहथुम मा.वि भिरकोट नगरपालिकाका छात्रा शशी अर्यालले दोस्रो स्थान हासिल गर्नुभएको छ भने श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ नगरपालिकाका छात्रा पोषकान्त लुइटेलले तृतीय स्थान हासिल गर्नुभएको छ ।
त्यसैगरी उक्त प्रतियोगितामा शिक्षकतर्फ श्री त्रिभुवन नमुना आदर्श मा.वि. पुतली बजार नगरपालिकाका शिक्षक अमृत रेग्मीले प्रथम स्थान हासिल गर्नुभएको छ । त्यस्तै श्री अरनीको माध्यमिक विद्यालय बिरुवा गाउँपालिकाका शिक्षक जीवन लामिछानेले द्वितीय स्थान हासिल गर्नुभएको छ भने श्री सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोला गाउँपालिकाका शिक्षक शोभाकान्त शर्माले तृतीय स्थान हासिल गर्नुभएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. ६००० र प्रमाणपत्र, द्वितीय पुरस्कार रु. ४००० र प्रमाणपत्र र तृतीय पुरस्कार रु .३००० र प्रमाणपत्र रहेको थियो ।
जिल्ला समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा बोल्दै जिटीले यस्ता प्रतियोगिताले विद्यार्थी र शिक्षकको ज्ञानको दायरा विस्तार हुनुका साथै नेतृत्व कलामा वृद्धि हुने बताउनुभयो शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख शिवराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खड्क राज सुवेदी लगायतले बोल्नुभएको थियो ।
त्यसैगरी भगवती नमुना मा.वि. का शिक्षक रामप्रसाद पाण्डे, वालिङ बहुमुखी क्याम्पसका उपप्राध्यापक इन्दु श्रेष्ठ र दिव्य प्रकाश मा. वि. का शिक्षक ऋषिराम पोखरेल निर्णायकको भुमिकामा रहनुभएको थियो ।