बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन निर्देशिका जारी

२०८१ पुष २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ ।

विभिन्न किसिमका बिरामीको रेफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा कुनै पनि स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिना कुनै सोधखोज अनिवार्य जीवन रक्षको उपचार तत्काल सुरु गर्नुपर्ने र सम्भव नभएका उपचार निकटतम केन्द्रमा सेवाको सुनिश्चितता गरी सुरक्षित रेफरको दायित्व सम्बन्धित केन्द्रको हुने व्यवस्था मिलाउने घोषणा गरेका थिए । सोही बुँदालाई आधार मानेर निर्देशिका जारी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले बिरामीको जीवनरक्षा र अस्पतालहरूमा चाप व्यवस्थापन यसको उद्देश्य रहेको बताए । एकातिर बिरामी कतै गए पछि बिना कुनै ढिलाइ उपचार पाउनुपर्ने सुनिश्चित गर्न खोजेका हौँ, उनले भने, अर्कोतिर अस्पतालहरूमा चापको व्यवस्थापनसमेत गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय