कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट छैन : एनपी साउद

२०८१ माघ ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

महेन्द्रनगर,११ माघ ।  नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताउनुभएकाे छ । पार्टी कामको सिलसिलामा गृहजिल्ला कञ्चनपुर पुगेका नेता साउदले ०७९ को चुनावबाट जनताले म्यान्डेड दिइसकेकाले कांग्रेसले ०८४ कुर्नु पर्ने आवश्यकता नभएको बताउनुभयाे ।

‘कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन । हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन । हारेकाहरुले हो, मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने,’ उहाँले भन्नुभयाे, ‘कांग्रेसलाई जनताले ०७९ मा नै म्यान्डेट दिइसकेका छन् । त्यसकारण हामीले ०८४ कुर्नेभन्दा पनि आजदेखि नै जनताका आकांक्षा र विकासका काममा कटिबद्ध हुन जरुरी छ ।’

कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्रबार आयोजना गरेको सयदिने विशेष अभियान कार्यक्रम सम्बोधन गर्दै नेता साउदले पार्टीबाट जितेर गएका तीनवटै तहका जनप्रतिनिधिले उदाहरणीय काम गरे ०८४ मा जनताले आफैं कांग्रेसको खोजी गर्ने जिकिर गर्नुभयाे ।

‘आजका दिनमा कांग्रेसबाट तीन तहमा गएका साथीहरुले उदाहरणीय काम ग¥र्यौँ भने जनताले आफैं ०८४ मा कांग्रेस भनेर खोज्ने छन्,’ उहाँले भन्नुभयाे, ‘पार्टीका साथीहरूले देशका हरेक परिस्थितिको जवाफ दिने गरी प्रशिक्षण अभियान सञ्चालन गरिनुपर्छ । पार्टीलाई विकाससँग जोड्न आवश्यक छ । पार्टी संगठनलाई चुस्त बनाउन आवश्यक छ ।’

जनता आकांक्षा र विकासका काममा कांग्रेसको मात्रै नभएर सबै राजनीतिक पार्टीको दायित्व रहेको भन्दै साउदले सस्तो लोकप्रियता धेरै नटिक्ने भएकाले इमान्दारिताका साथ जनताको बीचमा गएर जनताका मागहरु पूरा गर्न पार्टीका नेता र जनप्रतिनिधिको मुख्य जिम्मेवारी रहेकोमा जोड दिनुभयाे ।

‘विकासका आयामहरूबारे पनि जनतालाई बुझाउन आवश्यक छ । जनप्रतिनिधि र पार्टीको संरचनाबीच मह र मौरीकोजस्तै सम्बन्ध रहेको छ,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘जनप्रतिनिधिले जनतालाई बाँडिरहेको मह पार्टीका कार्यकर्ताले आर्जन गरेको कुरा बिर्सिनु हुँदैन ।’

उहाँले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सक्रियताका साथ जिम्मेवारीमा रहेकाहरू ध्यान दिन आवश्यक रहेको बताउनुभयाे । ‘पार्टीका साथीहरू वडाहरूमा गएर क्रियाशील नवीकरणमा खटिन आवश्यक छ । युवा, आदिवासी, जनजाति र महिलालाई प्राथमिकतामा राखेर सदस्यता दिने काममा लाग्न साथीहरुलाई आग्रह गर्दछु,’ उहाँले भन्नुभयाे, ‘पार्टीलाई एकतावद्ध बनाएर लैजान हामी प्रतिबद्ध छौँ ।’

नेता साउदले आरक्षी पीडित र सुकुम्बासी समस्या समाधानका लागि लाग्न आवश्यक रहेको बताउनुभयाे । पीडितहरूलाई राहत दिने गरी भूमि आयोगले काम सम्पन्न गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयाे ।

जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट नडराएर आफ्नो काममा केन्द्रित हुन आवश्यक रहेको साउदको भनाइ थियो । ‘जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट डराउनुपर्ने छैन, जनप्रतिनिधिले आफ्नो काममा केन्द्रित हुन आवश्यक छ,’ उहाँले भन्नुभयाे, ‘पार्टीमा युवालाई योगदान र कामका आधारमा न्याय दिने कुरामा पनि विश्वास दिलाउन चाहन्छौँ ।’

पार्टीको सय दिने अभियानका अभियन्ता तथा केन्द्रीय सदस्य नृपबहादुर वडले स्थानीय जनप्रतिनिधि र पार्टी संरचनाबीच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयाे । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताउनुभयाे । ‘लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसमा एकता, समन्वय र जवाफदेहिता आवश्यक हुन्छ,’ मन्त्री थापाले भन्नुभयाे, ‘जनप्रतिनिधिले जनताप्रति र पार्टीसँग समन्वय गर्ने कुरा अनिवार्य रुपमा गर्नै पर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार