मधेस प्रदेशमा विषयगत समितिको सभापति पदका आज मतदान हुँदै

२०७८ माघ २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

जनकपुर, २५ माघ । मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज(मंगलबार)प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक लेखा समितिको सभापति पदका लागि मतदान हुने कार्यतालिका छ ।

लामो समयदेखि रिक्त प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्तागठबन्ध र प्रतिपक्षी गठबन्धनका तर्फबाट चार जनाले उम्मेदवारी दर्ता गराएपछि मतदान हुन लागेको हो । सार्वजनिक लेखा समिति सभापतिमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नरेशकुमार राययादव र प्रतिपक्षी गठबन्धनतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका प्रह्लाद गिरीले उम्मेदवारी दर्ता गराएका छन् । कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तव र प्रतिपक्षी गठबन्धनको तर्फबाट नेकपा एमालेका जगतारन देवी साह सुडीले उम्मेद्वारी दर्ता गरिएकाे छ ।

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा भने नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । सो समितिको सभापतिमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिएका छन् । प्राकृतिक स्रोत तथा वातावरण समितिका तत्कालीन सभापति माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल बर्खास्त भएपछि सो पद रिक्त भएको थियो । यस्तै कृषि तथा भूमि व्यवस्था समिति सभापति भएका वीरेन्द्रसिंह मन्त्री नियुक्त भएपछि उक्त समिति रिक्त छ । सार्वजनिक लेखा समिति भने सुरुदेखि नै सभापति चयन हुनसकेको छैन । सार्वजनिक लेखा समितिमा ज्येष्ठताका आधारमा नेकपा एमालेका लगनलाल चौधरीलाई सभापतिको जिम्मेवारी दिएको थियो । सार्वजनिक लेखा समिति पद अहिले रिक्त रहेको प्रदेशसभा सचिवालयका सचिव यादवले बताएका छन् । प्रदेशसभाअन्तर्गतको अर्थ तथा योजना समिति सभापतिमा जनता समाजवादी पार्टीका मनिष सुमन, विकास समितिमा जसपाकै शेष अब्दुल कलाम आजाद र प्रदेश मामिला सभापतिमा जसपाकै अशोक यादवलाई चयन गरिसकेको छ । महिला बालबालिका समितिको सभापतिमा लोसपाका जयनुल राइन  हुनुन्छ।

प्रमुख प्रतिपक्षीको हैसियतमा सार्वजनिक लेखा समितिको सभापति पनि आफूहरूले नै पाउनुपर्ने लोसपाका सचेतक परमेश्वर साहले बताएका छन् । मधेस प्रदेश सरकारमा संघीय गठबन्धनजस्तै जसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी छन् । यस प्रदेशमा केही दिनअघि सम्पन्न राष्ट्रियसभाको निर्वाचनयता लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमालेको प्रतिपक्षी गबन्धन कायम छ । एक सय ४ सदस्यीय प्रदेशसभामा सत्तारुढ पाँच दलको ७८ प्रदेशसभा सदस्य छन् भने प्रतिपक्षी दल लोसपाका १६ र नेकपा एमालेका आठ गरी प्रतिपक्षी गठबन्धनसँग २४ मात्र प्रदेशसभा सदस्य हुनुन्छ ।

एमाले मधेस प्रदेशको सचेतकमा थापा चयन

नेकपा एमाले मधेस प्रदेश संसदीय दलको सचेतकमा शारदादेवी थापालाई चयन गरिएको छ । एमाले प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सचेतकमा थापालाई चयन गर्ने निर्णय गरिएकाे  हो । महोत्तरी क्षेत्र नं १ को (कं)बाट निर्वाचित थापा प्रदेश सभासदस्य हुन् । २०६१ सालदेखि बाट कम्युनिस्ट राजनीतिम सुरु गरेकी थापाले २०६४ मा पार्टीको संगठित सदस्यता लिएकी थिइन् । थापा हाल एमालेको प्रदेश कमिटी सदस्यसमेत   हुनुन्छ। थापालाई सचेतकमा चयन गरेको सम्बन्धमा प्रदेशसभा सचिवालयलाई पत्रद्वारा जानकारी गराइसकेको एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिनुभएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार