काठमाडौं ,१४ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद अवरुद्ध गर्नु उचित नभएको बताउनुभएको छ ।
बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री शर्माले कुलमान घिसिङको बिषय अदालतमा गइसकेका कारण संसद् अवरोध गरिरहने कुरा उचित नहुने बताउनुभएको हो ।
सरकारले गरेको हरेक निर्णयको जवाफ प्रधानमन्त्रीले सदनमा आएर दिनुपर्ने नजिर बसाउन नहुने उहाले बताउनुभयो । यद्दपी शर्माले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनु गलत भएको बताउनुभयो ।
शर्माले आफु र अर्का महामन्त्री गगन थापाले पार्टीको पदाधिकारीका साथै प्रधानमन्त्री र मन्त्रीलाई कुलमानलाई नहटाउनको लागि सुझाव दिएको जिकिर गर्नुभयो ।
उहाले केहि महिनामात्रै पदावधि बाँकी रहेका समयमा कुलमानलाई हटाउने निर्णयले सकारात्मक सन्देश जान नसकेको धारणा राख्नुभयो । बिपक्षीको अवरोधका कारण प्रतिष्थापन विधेयक पारित गर्न समेत जटिलता उत्पन्न भएको बताउनुभयो ।