बागलुङ कांग्रेसले आफ्नै कार्यालय भवन बनाउने

२०७८ माघ २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गलकोट, २६ माघ । बागलुङ कांग्रेसले आफ्नै पार्टी कार्यालय बनाउने अभियानलाई क्रमशः सार्थकता दिलाउन थालेको छ । पार्टी कार्यालयका लागि कांग्रेस बागलुङले छोटो समयमै घडेरी व्यवस्थापन गरिसकेको छ । १४ औँ महाधिवेशनपश्चात सभापति जीत शेरचनले निर्वाचनपछि आफ्नै पार्टी कार्यालय बनाउने घोषणा गर्नुभएको थियो ।

अहिले नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउने अभियान अन्तर्गत बागलुङ नगरपालिका–३ नारायणचोकमा १४ आना जग्गा व्यवस्थापन भइसकेको र भवन निर्माणका लागि सहयोग सङ्कलन अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताउनुभयो ।शेरचनले रु दुई करोड पाँच लाखमा जग्गा खरिद गरेर भवन निर्माणको लागि नक्शाको काम भइरहेको बताउनुभयो । सुविधा सम्पन्न पार्टी कार्यालय बिपी स्मृति भवन निर्माणका लागि अहिले नेपाली कांग्रेसका नेता तथा शुभेच्छुकहरुले धमाधम सहयोग प्रदान गरिराखेका छन् । शेरचनले सुविधा सम्पन्न भवन निर्माणका लागि पाँच करोड खर्च अनुमान गरिएको बताउनुभयो । जग्गा खरिदसहित भवन निर्माणका लागि पार्टीले अहिलेसम्म विभिन्न व्यक्तिबाट रु ३० लाख सङ्कलन गरिसकेको छ । कांग्रेस बागलुङले जग्गा खरिद, भवन निर्माण र कार्यालय सञ्चालनका लागि कोष निर्माण गर्न भन्दै आफूहरुको रु १० करोड उठाउने लक्ष्य रहेको जनाएको छ ।

“कांग्रेसका धेरै नेता, कार्यकर्ता र शुभेच्छुकहरुले उत्साहजक रुपमा पार्टीको भवन निर्माणका लागि सहयोग गरिराख्नुभएको छ, छोटो समयमै रु ३० लाख बढी रकम सङ्कलन भइसकेको छ”, सभापति शेरचनले भन्नुभयो, “ १० करोड उठाउने लक्ष्य छ, सबेले सहयोग गर्छौं भनिरहेका छन्, उठेको रकममध्ये जग्गा व्यवस्थापन र भवन निर्माण पश्चात बाँकी रहेको रकम पार्टी व्यवस्थापनमा खर्च गरिनेछ ।”पार्टी कार्यालयको लागि १० आनामा भवन बन्ने छ । भवन ६ तलाको बन्ने सभापति शेरचनले बताउनुभयो । उहाँले दुई वर्षमा पार्टीको कार्यालय निर्माण भइसक्ने बताउनुभयो । अहिले बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोक नजिकै घर भाडामा लिएर पार्टीको कार्यालय सञ्चालन गरिदै आएको छ । कार्यालय सञ्चालनका लागि पार्टीले मासिक २० हजार घर भाडा तिर्दै आएको छ । भवन सभाहलसहितको हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय