काठमाडौँ , ११ जेठ। प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका–२, आवारोडमा अवस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट प्रदान गर्ने व्यावसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ।
एक औपचारिक कार्यक्रमका बीच सम्पन्न सम्झौतामा होटलका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एन.बी.सी.ओ.) राजु रानाले हस्ताक्षर गर्नुभएकाे हाे ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले डेबिट वा क्रेडिट कार्ड तथा बैंकका अन्य विद्युतीय माध्यम प्रयोग गरी बिल भुक्तानी गर्दा इला कम्फर्ट होटलमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट तथा खाना र मनोरञ्जन सेवामा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तव्य मानिने बाग्लुङको कालिका मन्दिर, पञ्चकोट, शालिग्राम सङ्ग्रहालयलगायत क्षेत्रहरूको अवलोकनमा आउने पर्यटकहरूको सहजताका लागि यो सम्झौता महत्वपूर्ण हुने बैंकले जनाएको छ। इला कम्फर्ट होटलले परिवारमैत्री वातावरण, शान्तिपूर्ण बसोबास, र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जानकारी गराइएको छ।
प्रभु बैंकले देशभर वित्तीय पहुँच अभिवृद्धि गर्दै उपभोक्तामैत्री सेवामार्फत ग्राहक सन्तुष्टिमा जोड दिँदै आएको छ। यही सन्दर्भमा बाग्लुङको पर्यटन प्रवर्द्धनसँगै आफ्ना ग्राहकलाई थप मूल्यवर्धित सेवा दिन होटलसँग सहकार्य गरिएको बैंकले स्पष्ट पारेको छ।
प्रभु बैंक र इला कम्फर्ट होटलबीच भएको सहकार्यले क्षेत्रीय पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। बैंकले आगामी दिनहरूमा पनि विभिन्न व्यवसायिक प्रतिष्ठानहरूसँग सहकार्य गर्दै ग्राहकलाई सुविधाजनक सेवा विस्तार गर्ने रणनीति अघि सारेको छ।