कैलाली ,५ साउन । धनगढी उपमहानगरपालिका-४ स्थित नाष्ट कलेज नजिक आइतबार राति भीषण आगलागी भएको छ।
स्थानीय विश्व प्रकाश कडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्फेक्स र सेन्टर पोइन्ट रेस्टुरेन्टका आठ सटरमा आगलागीबाट क्षति पुगेको छ ।


राति करिब १०:५० बजे अचानक विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
आगलागीको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको नेतृत्वमा प्रहरी टोली, सशस्त्र प्रहरी बल नं. ३४ गण कैलाली, धनगढी उपमहानगरपालिकाका दुईवटा तथा गोदावरी नगरपालिकाको एउटा दमकलसहित स्थानीयवासीले संयुक्त प्रयासमा राति १२:१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।
आगलागीमा हेलेन ट्रेड सप्लायर्स अन्तर्गत रहेका चार सटरभित्रको लुगा, कपडा र अन्य सरसामान जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने परिवर्तन इन्फेक्स अन्तर्गत तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
क्षतिको विस्तृत विवरण र आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।