पहिलाको तीजमा गाउँमा को-को चेलीबेटी आए भन्ने चोकमा नाच्ने ठाउँमा आएर थाहा पाइन्थ्यो । अहिले भने त्यो खबर थाहा पाउन टिकटक खोल्नुपर्छ। भिडियोमा कसले कुन घरमा के दर खायो, कुन गीतमा नाच्यो भनेर अपडेट पाइन्छ ।
हामी सानै हुँदा त तीज भन्नेबित्तिकै नयाँ कपडाको आश हुन्थ्यो। अहिलेजस्तो फेसनेबल लुगा किन्ने हैसियत कहाँ सबैको हुन्थ्यो र ? घरमा तीजकै बहानामा स्कुल ड्रेस नै किनिदिन्थे। त्यै ड्रेस लगाएर तीजको दिन चोकतिर रमाइलो हेर्न जान्थ्यौँ । त्यो साधारण खुसी नै हाम्रो ठूलो पर्व हुन्थ्यो । अहिलेचाहिँ तीज भन्नासाथ बुटिक धाउनु पर्ने, तीज special gown सिलाउनु पर्ने, अनि त्यो पनि टिकटकमा देखाउन नपाए भने तीजको उत्सव अधुरो ठान्ने जमाना आएको छ ।


सबैभन्दा बिचित्र त दर खुवाइमा देखिन्छ। पहिले दर भनेको घरैमा पकाएर खाने, आमाले बनाएको मिठो परिकार चाख्ने संस्कार थियो। “आज दर खायौँ, भोलि निराहार” भन्ने व्रतसँगै जोडिएको त्यो परम्परा अब भने होटलको मेनुमा खुम्चिएको छ। Special Teej Offer भन्दै होटल रेस्टुरेन्टले पर्चा टाँस्छन्। घरमा पसिना बगाएर बनाएको दरको स्वाद हराइसकेको छ। होटलको प्लेटमा buffet style मा सजिएका दर देखिन थालेको छ।
तीज गीत पनि कहाँ पहिले जस्तो छ र ! पहिले आमा-दिदीहरू भेला भएर जीवनका गुनासा पोख्ने, गीतमार्फत पीडा र खुशी बाँड्ने गर्थे। अहिलेचाहिँ त्यो गीत हराएर टिकटक च्यालेन्ज बनेको छ । स्वर भन्दा बढी म्युजिक, रुप भन्दा बढी फिल्टर, भावभन्दा बढी डान्स । तीज गीत अब संस्कार होइन, सामाजिक सन्जाल ट्रेन्डिङ्ग सामग्री मात्रै बन्यो ।
फेसबुकमा झन् अर्को तामझाम छ । पहिले दिदिबहिनीले चुरा, पोते देखाएर चोक चौताराहरुमा रमाउँथे, अहिले फोटो अपलोड गरेर Feeling blessed on Teej भन्दै लाइक गन्ने चलन छ। दर पनि मुखमा भन्दा पहिला फेसबुक र इन्स्टाग्राममा राख्नै हतार हुन्छ।
आमाहरुको चिन्ता “छोरीले घरधन्दामा सुख पाओस” भन्ने हुन्छ, चेलीहरूको चिन्ता “मेरो टिकटक भाइरल हुँदैन कि ” भन्ने भएको छ।
अन्ततः कुरा एउटै हो सामाजिक वातावरण हरायो, मान्छे सञ्जालमै रमायो। पहिले चोकमा जमघट हुन्थ्यो, दिदीबहिनी भेला भएर मौलिक संस्कृतिमा रमाउँथे। अहिले त्यो मौलिकता हराएर फेसबुक लाइभ र टिकटक फिल्टर मात्र बाँकी छन्। तीज अझै पर्व त हो, तर पहिलाको जस्तो संस्कारले जोड्ने पर्व होइन, फोटो र भिडियो पोस्ट गर्ने माध्यम जस्तो मात्र भएको छ।
खेम गैह्रे